भव्य महल भाडामा लिएर अनलाइन सट्टेबाजी : १५ दिनमा प्रहरीको चार ‘रेड’ झन्डै १० अर्बको भएको थियो सट्टेबाजी

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

- बुढानीलकण्ठ नगरपालिका– ५ स्थित त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकृतको भव्य महल प्रवेशपछि प्रहरी त्यसवेला झस्कियो, जब अनलाइनमार्फत सट्टेबाज धन्दा चलाइरहेका २४ भारतीय नागरिक फेला परे । तीन महिनादेखि निर्वाध सट्टेबाज खेलाइरहेका उनीहरूले प्रतिमहिना दुई लाख रुपैयाँ भुक्तानी गर्ने सर्तमा महल भाडामा लिएका थिए । प्रहरीका अनुसार उनीहरूले यसबिचमा एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँको सट्टेबाज खेलाइसकेका थिए । दुई वर्षको भाडा ‘कन्ट्र्याक्ट’ गरेका उनीहरू धन्दालाई थप परिष्कृत र व्यापक बनाउने योजनामा थिए । गत ५ फागुनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ‘रेड’पछि मात्रै उनीहरूको योजनामा ‘ब्रेक’ लागेको थियो । 

- ५ फागुनमै जिल्ला प्रहरी पसिर काठमाडौंको विशेष टोली बुढानीलकण्ठ नगरपालिका– २ तौलुङस्थित अर्को भव्य महलमा प्रवेश ग¥यो । सो महलमा पनि अनलाइनमार्फत सट्टेबाज धन्दा चलाइरहेका चार भारतीय नागरिक फेला परे । एक महिनाको बिचमा उनीहरूले मात्रै दुई अर्ब रुपैयाँको सट्टेबाज खेलाइसकेका थिए । त्यसअघि अर्थात् गत २९ माघ पनि बुढानीलकण्ठ– ३ गैरीगाउँस्थित महलबाटै अनलाइनमार्फत सट्टेबाज धन्दा चलाइरहेका २३ भारतीय नागरिक पक्राउ परे । धन्दाका लागि उनीहरूले गैरीगाउँकै दोर्जे शेर्पाको भव्य महल भाडामा लिएका थिए । प्रहरीका अनुसार छोटो अवधिमै उनीहरूले तीन अर्ब १३ करोड रुपैयाँको सट्टेबाजी खेलाइसकेका थिए । 

- गत २० माघमा पनि ललितपुरको सानेपाबाट अनलाइनमार्फत सट्टेबाजी गर्ने १४ नेपालीसहित १० भारतीय नागरिक पक्राउ परे । सात महिनादेखि धन्दा चलाइरहेका उनीहरूले मात्रै तीन अर्ब चार करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको सट्टेबाजी लगाइसकेका थिए । धन्दा चलाउन उनीहरूले सानेपास्थित दुईवटा भव्य महल तीन वर्षका लागि भाडामा लिएका थिए । दुईवटा घरको भाडा मात्रै उनीहरूले प्रतिमहिना एक लाख ९० हजार तिर्दै आएका थिए ।

सट्टेबाजीसँग सम्बन्धित माथिका चार घटना १५ दिनभित्रका हुन् । यस अवधिमा उनीहरूले मात्रै नौ अर्ब ८२ करोड १३ लाख १३ हजार ९५२ रुपैयाँको सट्टेबाजी लगाएको खुलेको छ । समान पक्ष के भने चारवटै घटनामा भारतीय नागरिक संलग्न छन् । जसको ‘अप्रेसन’ भारतबाट भएका छन्, तर भूमि भने नेपालको प्रयोग भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले उपत्यकाभित्र यस्ता घटना अन्यत्र पनि हुन सक्ने बताए । ‘१५ दिनको बिचमा सट्टेबाजसँग सम्बन्धित चार घटनामा प्रहरीले रेड हानेको छ । सबै घटनामा भारतीय नागरिकको संलग्नता देखिएको छ । यसले के देखाउँछ भने सट्टेबाजीसँग सम्बन्धित घटना अझै धेरै छन् । थप सूचना आइरहेका छन्, भेरिफाईको काम भइरहेको छ,’ उनले भने ।

भारतीय बैंक प्रयोग भएकाले अनुसन्धानमा जटिलता
प्रहरीका अनुसार चारवटै घटनामा रकम भुक्तानीका लागि भारतीय बैंक प्रयोग गरिएका छन् । कतिपयमा ‘क्रिप्टो’मार्फत पनि भुक्तानी भएका छन् । उनीहरूले प्रयोग गरेका एपमार्फत सट्टेबाजी लगाउने सबै खेलाडी भारतीय छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जित–हारको रकम भुक्तानीका लागि भारतीय बैंक प्रयोग भएकाले अनुसन्धानमा जटिलता रहेको बताए । ‘हार–जितको रकम भुक्तानीमा भारतीय बैंक प्रयोग भएका छन् । खेलाडी पनि भारतीय नागरिक नै छन् । तर, भूमि भने नेपालको प्रयोग भएको छ । यी घटनाको विस्तृत अनुसन्धान गर्न भारत पुग्नुपर्ने हुन्छ । उनीहरूको बैंक डिटेल्स अध्ययन गर्नुपर्ने हुन्छ । त्यसको पहुँच हामीसँग हुँदैन । त्यसैले अनुसन्धानमा जटिलता देखिएको छ,’ उनले भने ।

‘इन्टरनेट सर्भिस प्रोभाइडर’को लापरबाही र स्थानीय तहबाट हुने ‘सर्भिलेन्स’मा कमी हुँदा यस्ता घटना बढिरहेको प्रहरीको दाबी छ । यस्ता धन्दा मौलाउनुमा भाडामुखी घरबेटी पनि अर्को कारक रहेको प्रहरीको भनाइ छ । अनुसन्धान कार्यालयका एसपी आचार्यले भने, ‘यस्ता धन्दा मौलाउनुमा इन्टरनेट सर्भिस प्रोभाइडर, स्थानीय तह र घरबेटीको मुख्य भूमिका देखिन्छ । कहाँ कसले कुनवेला पोर्नसाइट चलाइरहेको छ भन्ने जानकारी सर्भिस प्रोभाइडरलाई हुन्छ । अनलाइन जुवा खेलाइरहेको जानकारी पनि उनीहरूलाई हुने भयो । तर, उनीहरूले यस्ता धन्दालाई निर्वाध छाडेको देखिन्छ । आफ्ना टोल–छिमेकमा भएका गतिविधिप्रति न स्थानीय तहको ‘सर्भिलेन्स’ रहन्छ, न घरबेटीको नै । उनीहरूलाई भाडा उठाउन पाए पुग्छ । त्यसैको फाइदा यस्ता समूहले उठाइरहेका छन् ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले १५ दिनमा झन्डै १० अर्ब रुपैयाँको सट्टेबाजी खेलाइएको घटनाप्रति ध्यानाकर्षण भएको बताए । ‘१५ दिनको बिचमा सट्टेबाजीसँग सम्बन्धित चार घटनामा प्रहरीले ‘रेड’ हान्दा भारतीय नागरिक प्रयोग भएको भेटिएको छ । धन्दाको ‘अप्रेसन’ नेपालभित्रबाट नभई अन्यत्रबाट भइरहेको देखिन्छ । रकमको भुक्तानीमा पनि अन्यत्रकै बैंक प्रयोग भएको देखिन्छ । यसलाई नेपाल प्रहरीले जानकारीमा लिएको छ,’ उनले भने । पक्राउ पर्नेमा अजय कुमार, मोहम्मद चाँद, जय कुमार, मोहम्मद नफिस, गुल्फाम खान, मोहम्मद वासिम, रियाज अहमद, मोहम्मद सानवाज, जमालउद्दिन शेख, मोहम्मद हमिद रजा, सुभाष चौधरी, मोहम्मद ओवास, अनिश कुमार, आलम शेख, मसली उद्दिन शेख, मोहम्मद नदिम, मोहम्मद इमरान, मनीष कुमार, मोहम्मद हेदायत, मोहम्मद जनसार, मोहम्मद बिलाल, मोहम्मद असिम, मोहम्मद सर्फराज र मोहम्मद दानिस छन् ।

सुझावित समाचार