धरानमा जारी प्रदेश प्रिमियर लिगमा धनकुटाको देउराली युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार धरान रंगशालमा भएको खेलमा पाँचथरको पाँचथर युनाइटेडलाई ७–० ले पराजित गर्दै चार अंकसहित देउराली युथ क्लब शीर्ष स्थानमा उक्लिएको हो ।
समान चार अंक भएको उदयपुरको गाईघाट फुटबल क्लब भने गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । देउरालीका लागी समिर लिम्बूले ह्याट्रिक गरे भने दिपेन शाक्यले दुई गोल तथा विरेन लिम्बू र ज्ञानेन्द्र भण्डारीले एक एक गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच घोषित भएका समिर लिम्बूले नगद पाँच हजार पुरस्कार प्राप्त गरे । देउराली युथ क्लबले खेलको सुरुवातदेखि नै पाँचथरलाई दबाबमा राखेको थियो । पराजित भएको पाँचथर युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ । पाँचथरको दुई खेलबाट एक अंक रहेको छ ।
मंगलबार नै भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबले खोटाङको बुइपा–११ लाई २–० ले पराजित गर्दै चार अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ । गाईघाटका लागी प्रविन राईले दुवै गोल गरे । उनले पहिलो हाफको अन्तिम दुई मिनेटमा दुई गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच समेत घोषित भएका प्रविन राईलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । पराजित भएको बुइपा–११ भने एक अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
लिगमा बिहीबार विहान धरान रंगशालामा पाँचथर र गाईघाट तथा दिउँसो देउराली र बुइपा–११ बिच खेल हुनेछ भने उक्त खेलले लिगको विजेता उपविजेताको टुंगो समेत लाग्नेछ ।
प्रतियोगितामा ११ जिल्लाका लिग च्याम्पियन क्लबहरूबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता ८ फागुनसम्म सञ्चालन हुने संघका अध्यक्ष किशोर राईले जानकारी दिए । लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।