भारतको ओडिसा राज्य सरकारले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ।
मुख्यमन्त्री मोहन चरण माझीको अग्रसरतामा राज्य सरकारले गठन गरेको समितिले विद्यार्थीमाथि भएको दुर्व्यवहार तथा शक्तिको दुरुपयोगको जाँचबुझ गर्ने जनाएको छ। मुख्यमन्त्री माझीले सोमबार विश्वविद्यालयको अनुगमनसमेत गरेका थिए।
ओडिसा राज्य सरकारको सूचना विभागद्वारा मंगलवार जारी विज्ञप्तिअनुसार जाँचबुझ समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिब, महिला तथा वाल विकास विभागका सचिब, उच्च शिक्षा विभागका अधिकारी सम्मिलित छन्।
‘समितिले विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोग सम्बन्धी छानविन गर्ने र उनीहरुलाई कानूनीरुपमा जबाफदेही बनाउने छ’ सूचना विभागको विज्ञप्तिमा भनिएको छ ,‘राज्य सरकार विद्यार्थीहरुको सुरक्षा, सम्मान एवं हकहितका लागि कार्य गर्न प्रतिबद्ध छ । निस्पक्ष र शीघ्र न्याय सुनिश्चित गर्न आवश्यक सबै कदम चालिनेछ।’