दार्जिलिङका सांसद विष्टद्वारा ओडिसा घटनाबारे शिक्षामन्त्री प्रधानको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

भारतीय जनता पार्टीका प्रवक्ता तथा दार्जिलिङ्बाट लोकसभाका सांसद राजु बिष्टले ओडिसास्थित छात्राबासमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको परिवारप्रति समबेदना व्यक्त गरेका छन्।

बिष्टले मंगलवारै ओडिसा निवासी भारतको केन्द्रिय शिक्षामन्त्री धमेन्द्र प्रधान तथा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग सम्पर्क गरेर स्वर्गीय लम्सालको न्याय सुनिश्चित गर्न हस्तक्षेपका लागि अनुरोध गरेका छन्। उनले शिक्षामन्त्री प्रधानलाई चिठी लेख्दै घटनाको निस्पक्ष अनुसन्धानका लागि अनुरोध गरेका हुन्।

‘दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको तर्फबाट, म ओडिशाको होस्टेल कोठामा मृत फेला परेकी नेपालकी छात्रा सुश्री प्रकृति लम्सालको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु’ बिष्टले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ त्यहाँ अध्ययनरत विद्यार्थीहरूबाट रिपोर्ट प्राप्त भएपछि, मैले माननीय केन्द्रीय शिक्षामन्त्री श्री धर्मेन्द्र प्रधानजी र माननीय ओडिशाका मुख्यमन्त्री श्री मोहन चरण माझीजीलाई सम्पर्क गरें, स्वर्गीय प्रकृति लम्सालको लागि न्याय सुनिश्चित गर्न हस्तक्षेपको लागि अनुरोध गरें।’

उनले भारत र नेपालका विद्यार्थीहरूलाई केही सुरक्षा गार्ड र शिक्षकहरूले शारीरिक आक्रमण गरेको र छात्राबासका अधिकारीहरूले थप मानसिक दुव्र्यवहारको पनि निस्पक्ष अनुसन्धानका लागि ध्याानकर्षण गराएका छन्। उनले भाजपा निकट अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी)ले पनि मृतक विद्यार्थी र आक्रमणमा परेकाहरूको न्यायको माग गर्दै ऐक्यबद्धतामा सहभागी भएको पनि उल्लेख गरेका छन्।

उनले भुवनेश्वर प्रहरीबाट  मुख्य अभियुक्तलाई पक्राउ गरेको, प्रदर्शनकारी विद्यार्थीहरूमाथि आक्रमण गर्ने व्यक्तिहरू विरुद्ध मुद्दा चलेको जानकारी आएको उल्लेख गर्दै विद्यार्थीविरुद्धको जघन्य कार्यमा संलग्न सबैलाई जबाफदेही बनाउन पनि आग्रह गरेका छन्। द्रुत कार्यबाहीका लागि उनले विश्वविद्यालय प्रशासनलाई धन्यवाद पनि दिएका छन्।

सुझावित समाचार