नेहा रौनियारसँग अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेका सर्लाहीको बरहथवा नगरपालिका– १० का सत्येन्द्रकुमार राम (चमार)की आमा गीतादेवी राम र मामा राजु रन्जनलाई सर्लाही जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार ज्ञानेन्द्र दाहालले जानकारी दिए। नेहासँग विवाह गरेपछि सत्येन्द्रसँगै आमा गीतादेवी र मामा राजु रन्जनविरुद्ध पनि सर्लाही जिल्ला अदालतमा बालविवाहको कसुरमा मुद्दा चलाइएको थियो।
सत्येन्द्र र नेहालाई छुटाउन गृहमन्त्री रमेश लेखकको आदेश र आइजिपी कुँवरको निर्देशनमा बम्बईसम्म प्रहरी पुगेर कुटपिट गर्दै पक्राउ गरेको, बालविवाहको झुटा मुद्दा चलाएको विषय सडकदेखि सदनसम्म उठेपछि सरकार दबाबमा परेको थियो। गृहमन्त्रीमाथि संसदीय समिति बनाएर छानबिन गर्न सांसदहरूले संसदमै आवाज उठाएका छन् भने अधिकारकर्मीहरूले उनीमाथि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयदेखि मानव अधिकार आयोगसम्म उजुरी दिएका छन्।
चौतर्फी दबाब बढ्न थालेपछि आइजिपी कुँवरले इन्दल रामलाई छोरा–बुहारी घर लैजान दबाब दिएका थिए। राष्ट्रिय मानव अधिकार आयोगले पनि सत्येन्द्रको परिवारलाई सुरक्षा दिन आइतबार मात्र प्रहरीलाई पत्राचार गरेको थियो।
बुवा–आमासहित काठमाडौंबाट गाडी रिजर्भ गरेर गएका सत्येन्द्र र नेहालाई बरहथवा बजार पुगेपछि सर्लाही प्रहरीले स्कर्टिङ गरेर घर पुर्याएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्रकुमार सिंह, सशस्त्र प्रहरीका एसपी विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका डिएसपी रामरिझन यादवलगायतको टोली घरमै पुगेर पूर्ण सुरक्षाको ग्यारेन्टी गरेको सत्येन्द्र र नेहाले बताएका छन्। सुरक्षाका लागि घरमा दुईजना प्रहरी खटाएको पनि उनीहरूले बताए।