प्रधानमन्त्री केपी ओलीले सातवटै प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी पुगेर प्रधानमन्त्री ओलीले प्रदेश सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गरेका थिए । सम्बोधनको शृंखला सातवटै प्रदेशमा चल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस–एमालेसहितको अहिलेको सरकार पूर्ण कार्यकाल चल्ने दाबी गर्दै केन्द्र र प्रदेशबिच तालमेल मिलाएर काम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
चौथोपटक गत असार अन्तिम साता प्रधानमन्त्री बनेपछि २५ माघमा मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट भर्चुअल छलफल गर्दै उनले आफू प्रदेश सभामै आएर केन्द्र सरकारको सोच र प्रदेशसँगको तालमेलबारे सम्बोधनका लागि आउने जानकारी गराएका थिए ।
मुख्यमन्त्रीहरूले दुई सरकारबिच कामका सम्बन्धमा तालमेल नभएको, कानुन नबन्दा समस्या भएको भन्दै असन्तुष्टि राखेर ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले त्यस्तो जवाफ फर्काएका थिए । मुख्यमन्त्रीहरूसँगको बैठकको डेढ सातापछि उनले प्रदेश सभामै पुगेर सम्बोधन गरेर दुई सरकारको तालमेल र प्राथमिकताबारे आश्वस्त पार्ने कोसिस गरेका छन् । त्यसक्रममा उनले प्रदेशका मुख्यमन्त्री र प्रदेश सभाका अध्यक्षसँग पनि परामर्श गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीहरूसँगको बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीका लागि थप छलफल गरेर जाने र सकेसम्म प्रदेशमै र प्रदेश सभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने तथा समस्याको पहिचान गरी कार्यान्वयनको ‘एक्सन’मा जाने जानकारी गराउनुभएको थियो,’ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भने, ‘त्यसअनुसार उहाँले प्रदेश सभामै पुगेर सम्बोधन गरी दुई सरकारबिचको तालमेल र संसदबिच समन्वय हुनुपर्ने विषयलाई सम्बोधन गर्नुभएको छ ।’
मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले संघ र प्रदेशका गौरवका आयोजनाका साथै, तलका विकासको नेतृत्व प्रदेश सरकारले नै गरोस् भन्ने आफ्नो चाहना रहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेतृत्वदायी भूमिकाका लागि प्रदेशमा पनि एक्सन रुम बनाएर काम अगाडि बढाउन जनशक्ति, वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । मुख्यमन्त्रीहरूले कानुन निर्माणदेखि बजेट व्यवस्थापनमा केन्द्र सरकारको उदासीनताले विकास निर्माण र सेवाप्रवाहमा देखिएका साझा समस्या सुनाउँदै समाधानका लागि पहल लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।