ओडिसा घटनाका सन्दर्भमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छिन्। 

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक पहल थालेको उनले बताएकी हुन्। 

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री डा. देउवाले यससम्बन्धी समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि गम्भीर रूपमा लिएर कूटनीतिक पहल सुरु गरेको जानकारी दिएकी छिन्। 

मन्त्री डा. देउवाले उक्त घटनाका सन्दर्भमा आफूसम्बद्ध पक्षसँग सम्पर्कमा रहेको र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिई काम गर्न निर्देशन दिएको जानकारी दिइन्। 

सोहीबमोजिम राजदूत डा. शर्माले काम गरिरहेको र केहीबेर अघि नेपाली राजदूतावास नयाँ दिल्लीले विज्ञप्ति प्रकाशन गरिसकेको उनले बताइन्। 

यसैगरी, आजै अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको र उनले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिएको मन्त्री डा. देउवाले बताइन्। 
 

सुझावित समाचार