कास्की क्रिकेट लिग सम्पन्न, सांग्रिला बन्यो च्याम्पियन

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार सम्पन्न अन्तिम खेलमा जित हात पार्दै सांग्रिला च्याम्पियन बनेको हो । लिगको शीर्ष स्थानमा रहेका दुई टोली सांग्रिला र कास्की क्रिकेट क्लबबिच सोमबार सम्पन्न फाइनल खेलमा कास्कीलाई पाँच विकेटले पराजित गर्दै सांग्रिलाले उपाधि हात पारेको हो ।

यसअघि खेलमा अपराजित कास्कीले सात खेलमा सातैमा जित हात पार्दा सांग्रिलाले सातमध्ये ६ खेलमा जित र एकमा हारको सामना गरेको थियो । यसअघि लिगमा अपराजित कास्की फाइनलमा भने पराजित हुन पुगेको हो ।

खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको कास्कीले २० ओभर खेल्दै नौ विकेट गुमाएर ९३ रन जोडेको थियो । ९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको सांग्रिलाले १६ ओभर खेल्दै पाँच विकेट गुमाएर लक्ष्य पूरा गरी च्याम्पियन बन्न सफल भएको हो । 

कास्कीका लागि अर्जुन कुमालले २८ बलमा तीन चौका र एक छक्कासहित टोलीका लागि सर्वाधिक ३३ रन बनाएका थिए । विष्णुप्रसाद शर्माले २२ बलमा एक चौकासहित १३ र साहाबुद्धीन अन्सारीले १० बलमा दुई चौकासहित ११ रन बनाउँदा टोलीका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

सांग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक रन जोड्ने क्रममा ४१ बलमा पाँच चौका र एक छक्का प्रहार गदै ४८ रनको योगफल बनाएका थिए । ओपनर विराट दुवाडीले २३ बलमा तीन चौकासहित १८, अरुण अधिकारी २१ बलमा दुई चौकासहित १० रन बनाएका थिए ।

खेलमा साग्रिलाका राज परियारले चार ओभर खेल्दै ३० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पार्दा, विपिन खत्रीले चार ओभर खेल्दै एक मेडनसहित १२ रन खर्चिएर दुई, सिब्रिन श्रेष्ठ, घनश्याम पाण्डे र लक्ष्मण परियाले समान एकएक विकेट लिएका थिए । कास्कीका आयुष सौजुले चार ओभर खेल्दै ११ रन खर्चिएर दुई, नितेश गिरीले र आदित्य थापाले समान एक एक विकेट हात पारेका थिए ।  

प्रतियोगितामा पोखरा क्रिकेट क्लबका सुवास भण्डारीले बेष्ट व्याटर, बलर र म्यान अफ दि टुर्नामेन्टको पुरस्कार पाए । फाइनल खेलमा साग्रिलाका विपिन खबीले म्यान अफ दि म्याचको पुरस्कार हात पारे ।

राउण्ड रोविनका आधारमा १५ दिन सञ्चालन भएको लिगमा संघमा आबद्ध आठ क्लबले प्रतिस्पर्धा गरेका थिए । सहभागि सबै क्लबले सात सात खेल खेलेकामा शीर्ष स्थानमा रहेका दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 
 

सुझावित समाचार