राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा नेत्रावती डबजोङ (धादिङ) र कालीगण्डकी (स्याङ्जा)ले सबैभन्दा बढी अंक ल्याएका छन् । १०० अंकभारको मूल्यांकनमा दुई पालिकाले समान ७८.२ अंक ल्याएका हुन् ।
वित्त आयोगले संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गर्ने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि यो कार्यसम्पादन सूचक तयार गरेको हो । आगामी आर्थिक वर्ष ०८२/८३ का लागि संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि तयार गरिएको कार्यसम्पादन सूचकमा सबैभन्दा बढी अंक ल्याउने प्रदेशमा सुदूरपश्चिम (५१.६), महानगरमा चितवनको भरतपुर (७६.२, उपमहानगरमा दाङको घोराही (६६.९), नगरपालिकामा डडेलधुराको अमरगढी (८१.७) र गाउँपालिकामा धादिङको नेत्रावती डबजोङ (७८.२) र स्याङ्जाको कालीगण्डकी गाउँपालिका (७८.२) रहेका छन् ।
आयोगको यो मूल्यांकनले प्रदेश र स्थानीय तहका क्षमता, वित्तीय पारदर्शिता, वित्तीय अनुशासन, विकास, सुशासनलगायत कार्यसम्पादनलाई इंगित गर्छ । यो सूचककै आधारमा आयोगले संघीय सरकारसमक्ष तल्ला तहलाई दिने अनुदान सिफारिस गर्ने आयोगका अध्यक्ष बालानन्द पौडेलले बताए ।