भैरहवा र पोखरा विमानस्थल सञ्चालन कार्यविधि कति कार्यान्वयन ?

भैरहवा र पोखरा विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई भ्याट छुट गर्न आनाकानी

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

सरकार आफैले घोषणा गरेको भैरहवा र पोखराका अन्तर्राष्ट्रिय यात्रुहरूलाई हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिन अर्थ मन्त्रालय अझै तयार भएको छैन । सरकारले साउन अन्तिम साता गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना बनाएर मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको थियो । जसको पहिलो बुँदामै ‘दुई महिनाभित्र पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुहरूलाई प्रोत्साहन गर्न हवाई टिकटमा लगाइएको करको विषयमा अध्ययन गरी पुनरावलोकन गर्ने’ घोषणा गरिएको छ ।

२८ साउनमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको कार्ययोजना ६ महिना नाघिसक्दासमेत अझै अर्थ मन्त्रालयले भ्याट छुटको विषयमा ठोस निर्णय गर्न सकेको छैन । सरकारले भ्याट छुट आर्थिक ऐनमार्फत गर्ने हो, त्यो संशोधनको तयारी नै थालिएको छैन । सरकारले भ्याट छुटको निर्णय गरेमा कार्यान्वयनका लागि आफूहरू तयारी अवस्थामै रहेको आन्तरिक राजस्व विभागले जनाएको छ । राजस्व संकलनमा चर्को दबाव झेलिरहेको अर्थ मन्त्रालयले भ्याट छुट दिएर राजस्व गुमाउने मनस्थितिमा नरहेको स्रोतको भनाइ छ।

गौतम बुद्ध र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई टिकटमा तीन हजार रुपैयाँ यात्रुसेवा शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय पनि ६ महिनापछि भएको छ । जबकि, सात दिनभित्र यात्रु सेवा शुल्क छुट दिने कार्ययोजनमा समयसीमा तोकिएको थियो । यस्तै, दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका हवाई टिकटमा पर्यटन शुल्क भनेर लिइने एक हजार रुपैयाँ छुट दिने निर्णय भइसकेको छ । तर, यो छुट कार्यान्वयनमा आउन अझै समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । 

‘हवाई टिकटमा दिइने छुट कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)लाई जानकारी गराउनुपर्छ, हामीले टिकटमा उठाइने भ्याट, यात्रु सेवा शुल्क र पर्यटन शुल्कमा छुट दिने तीनवटै निर्णय भएपछि एकमुस्ट रूपमा आयटालाई लेखिपठाउने योजना थियो,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘तर, अझै भ्याट पुनरावलोकनको विषयमा कुनै निर्णय भएको छैन ।’

सरकारले नवनिर्मित भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान र यात्रुहरू आकर्षित गर्न छुट्टाछुट्टै र अन्य आकर्षक सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने विमानका लागि हवाई इन्धनमा सहुलियत दिने निर्णय कार्यान्वयन भइसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्कालै प्रतिकिलोलिटरमा एक सय अमेरिकी डलर छुट दिने निर्णय गरेको थियो । 

कार्ययोजनामा दुवै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन शुल्क ०८३ भदौ मसान्तसम्म पूर्ण रूपमा छुट दिने उल्लेख छ । क्यानले दुवै विमानस्थल उद्घाटनकै दिनदेखि ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिँदै आएको छ । कार्ययोजनामा उल्लेख भएबमोजिम दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय विमानलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिने पनि निर्णय भइसकेको बताइएको छ । क्यानकै पहलमा नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवा र पोखरा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट पहिल्यै उपलब्ध गराउँदै आएको थियो । सरकारले थप २५ प्रतिशत छुट दिने निर्णय पनि कार्यान्वयनमा आयसकेको उनले जानकारी दिए ।

‘कार्ययोजनामा उल्लेख गरिएको कोड सेयरिङको नीतिगत व्यवस्था पनि हुँदै छ,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न हदैसम्मका छुट र सेवा–सुविधा दिइरहेका छौँ, कोड सेयरिङमा पनि कुनै समस्या हुँदैन । यो पनि कार्यान्वयनकै क्रममा छ ।’ 

दुईवटै विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई द्विपक्षीय हवाई सेवा सम्झौताबमोजिम फिप्थ फ्रिडम प्रदान गर्न निर्देशन दिइएको थियो । भुलले भने, ‘फिप्थ फ्रिडम सुविधा वायुसेवा कम्पनीले माग्ने हो, भुटान एयरले भुटान–पोखरा–दिल्ली–भुटान उडान गर्न चासो देखाएको थियो, त्यो सुविधा दिन हामी तयार नै छौँ, यो सुविधा दिन कुनै समस्या छैन।’

यस्तै, सरकारले भैरहवा र पोखरा विमानस्थलमा आवतजावत गर्ने अन्तर्राष्ट्रिय यात्रुले आन्तरिक उडान गरेमा अन्तर्राष्ट्रिय उडानमा पाएसरहको लगेज सुविधा दिने व्यवस्था गर्न पनि कार्ययोजनामार्फत निर्देशन दिएको छ । यस विषयमा यती, बुद्ध, श्रीलगायत वायुसेवा कम्पनीसँग सहमति भइसकेको क्यानका सहप्रवक्ता भुलले बताए । उनले भने, ‘भैरहवा र पोखराबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रीहरूले आन्तरिक उडान प्रयोग गर्दा यात्रुहरूलाई बोर्डिङ पासका आधारमा लगेजको कुनै अतिरिक्त शुल्क नलिने निर्णय र सहमति भएको छ ।’

कार्ययोजनामा समेटिएको भूउपग्रहमा आधारित अवतरण विधि ‘आरएनपी–एआर’ रुट तयार भई कार्यान्वयनमा समेत आइसकेको छ । दुवै विमानस्थलको बजारीकरण गर्ने काम भने सुस्त नै देखिन्छ । सेवा सञ्चालनका लागि सम्पूर्ण आधारभूत आवश्यक इक्विपमेन्ट, जनशक्ति र हवाई सुरक्षाको सुनिश्चितता गरी तयारी अवस्थामा राख्ने काम पनि भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । 

भैरहवामा ट्रान्जिट कार्गो फ्लाइट सञ्चालन गर्न पनि पहल भइरहेको भुलले बताएका छन् । कार्गो फ्लाइटका लागि अर्थ मन्त्रालयले सबैभन्दा धेरै पहल गर्नुपर्ने हुन्छ । सहज पारवाहन र संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी जनशक्ति तथा उपकरणसहितको क्वारेन्टिन कार्यालय खोल्ने विषय अझै सम्बोधन भइसकेको छैन । १५ दिनको समयसीमा तोकिएको सहज पारवहन सुविधा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र क्वारेन्टिन स्थापना कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गर्ने काम हुन् ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय स्थापना भइसकेको छ । उडान संख्या बढ्दै जाँदा कर्मचारी पनि थप्दै जाने भएकाले यसमा कुनै समस्या नरहेको भुलले बताए । विमानस्थलमा भिसा सेन्टर स्थापना, वैदेशिक रोजगारीका मुख्य गन्तव्य देशहरूमा जान आवश्यक पर्ने भिसा पोखरा र भैरहवाबाट नै आवेदन गर्न र प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिइए पनि कार्यान्वयन भएको छैन ।

भैरहवा र पोखरामै वैदेशिक रोजगार व्यवसायीका शाखा कार्यालय स्थापना गर्ने र श्रमिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था अझै भएको छैन । वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण तथा तालिम, सामाजिक सुरक्षा कोष, बिमा र श्रमिक कल्याणसँग सम्बद्ध निकायसँग समन्वय गरी पोखरा र भैरहवाबाट नै सेवा प्रदान गर्ने व्यवस्था पनि कार्यान्वयन भएको छैन । यी विषयको सम्बोधन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत हुनुपर्ने हुन्छ ।

भैरहवामा चार वायुसेवाले गर्छन् अन्तर्राष्ट्रिय उडान
भैरहवा विमानस्थलबाट चारवटा वायुसेवा कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । जजिरा एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र नेपाल वायुसेवा निगमले भैरहवामा नियमित उडान गरिरहेका हुन् । जजिरा र थाई एयर एसियाले भैरहवामा सीधा उडान गर्छन् भने फ्लाई दुबई र निगमले भैरहवामा टचडाउन उडान गर्छन् । 

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं र निगमले काठमाडौं–भैरहवा–दुबई तथा काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं उडान गर्दै आइरहेका छन् । यी वायुसेवा कम्पनीहरूले भैरहवामा ओर्लिने र भैरहवाबाट विदेश जाने राम्रै यात्रु पाउन थालेको विमानस्थल कार्यालयले जनाएको छ । 
तर, पोखरा विमानस्थलमा भने अहिलेसम्म एउटै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । पोखरा विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुग्दासमेत फाट्टफुट्ट मात्रै चार्टर उडान भएका छन् । 
 

सुझावित समाचार