विश्व नम्बर एक टेनिस खेलाडी जानिक सिनर तीन महिना प्रतिबन्धित भएका छन् । प्रतिबन्धित औषधि सेवन गरेको भन्दै सिनरलाई विश्व एन्टी डोपिङ एजेन्सीले सजाय दिएको हो । गत वर्ष सिनरको रगत परीक्षण गरिएको थियो । दुवैपटकको परीक्षणमा प्रतिबन्धित औषधि सेवन गरिएको पाएको छ । २३ वर्षीया इटालियन खेलाडीको प्रतिबन्ध वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनअगाडि सकिनेछ । ९ फेब्रुअरीदेखि ४ मेसम्म सिनरले एटिपी टेनिस प्रतियोगिता खेल्न पाउने छैनन् । गत महिना मात्र उनले अस्ट्रेलियन ओपन जितेका थिए । यसैबिच वाडाले सिनरमाथि दुई वर्षको प्रतिबन्ध लगाउने तयारी गरेको एजेन्सीले जनाएको छ । तर, कासले अन्तिम फैसला नआउँदासम्म दोषीलाई सामान्य कारबाही गर्न निर्देशन दिएको थियो । अन्तर्राष्ट्रिय टेनिस एजेन्सीले पनि सिमरलाई वाडाको अन्तिम प्रतिवेदन सार्वजनिक हुनुअघिसम्म एन्टी डोपिङ एजेन्सीको निर्णय कार्यान्वयन हुने जनाएको छ ।
‘तीनपटकका ग्रान्डस्लाम च्याम्पियन खेलाडीले टेनिस खेलमा फोहोरी काम गरेका छन्, विश्वका एक नम्बर खेलाडीले आफूलाई फिट बनाउन नराम्रो काम गरेका छन्,’ वाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, अहिलेसम्म औषधि कुन समूहको हो, त्यसको अनुसन्धान हुन बाँकी छ ।’ यसैबिच, सिनरले आफ्नो गल्ती स्विकारेका छन् । ‘ममाथि लगाइएको प्रतिबन्ध स्वीकार गर्छु, थाहा नपाएर प्रतिबन्धित औषधि प्रयोग गर्न पुगेँ, मेरो टिममेट तथा चिकित्सकहरूको कुनै हात छैन,’ उनले भने, ‘मलाई लाग्छ, सबै खेलाडीमाथि वाडाले एकै किसिमको व्यवहार गर्नेछ ।’ उनले अब यस्तो गल्ती नहुने जनाए । ‘एक जिम्मेवार खेलाडीका रूपमा आफ्नो कर्तव्य बिर्सन मिल्दैन, खेल भावनाविपरीत जान पनि मिल्दैन,’ उनले भने, ‘अहिले सबै प्रमाणका आधारमा कारबाही भएको हो ।’
विश्व नम्बर एक टेनिस खेलाडी जानिक सिनरले प्रतिबन्धित औषधि एनाबोलिक स्टेराएड क्लोस्टेबोल प्रयोग गरेको भेटिएपछि विश्व एन्टी डोपिङ एजेन्सीले कारबाही गरेको हो
६ महिनाभित्र नाम चलेका खेलाडीले कारबाहीको सामना गरेका छन् । महिलातर्फ इगा स्विटेक पनि प्रतिबन्धित औषधि सेवन गरेकै कारण एक महिना प्रतिबन्धमा छिन् । गत नोभेम्बरमा विश्व महिला वरीयताको एक नम्बर खेलाडी इगाले वाडाको सूचीमा रहेको प्रतिबन्धित औषधि प्रयोग गरेकी थिइन् ।
एक वर्षदेखि मुद्दा
सिनरको मुद्दा एक वर्षदेखि चलिरहेको छ । सन् २०२४ मा एक प्रतियोगिता दौरान वाडाले उनको रगत परीक्षण गरेको थियो । त्यसवेला उनको रगतको नतिजा ‘पजिटिभ’ आएको थियो । तत्काल अन्तर्राष्ट्रिय टेनिस एजेन्सीले उनीमाथि प्रतिबन्ध लगाएन । यसको विरोधमा वाडाले कासमा अपिल ग¥यो । दोस्रोपटक सिनरको रगत र पिसाब ‘स्याम्पल’ लिइएको थियो ।
जसमा एनाबोलिक स्टेराएड क्लोस्टेबोलको मात्र पाइएको थियो । खेलाडी थकित भएको अवस्थामा यो औषधि शरीरमा प्रयोग हुन्छ । वाडाले यो औषधि प्रतिबन्धको लिस्टमा राखेको थियो । सिनरले सन् २०२४ मा अस्ट्रेलियन, युएस, मियामी, सिनसिनाटी र हालेजस्ता प्रमुख एटिपी उपाधि जितेका थिए । जसमध्ये उनले अस्ट्रेलियन तथा युएस ओपन आफ्नो नाममा लेखाएका थिए ।
वरीयता अंक गुमाउने
प्रतिबन्धको अवधिमा सिनरले वरीयता अंक गुमाउनेछन् । उनले शीर्ष स्थानमा रहन ११ हजार ८३० अंक बटुलेका छन् । यो दोस्रो स्थानका जर्मन खेलाडी एलेसान्दर भेरेभको भन्दा तीन हजार अंक बढी हो । तेस्रो स्थानमा रहेका स्पेनिस खेलाडी कार्लोस अल्काराजले सात हजार ५१० अंक जोडेका छन् । सिनरले मिआमी ओपन गुमाउने भएका छन् । यो १९–३० माचर्ससम्म चल्नेछ । यो प्रतियोगिताको विजेताले हजार अंक बटुल्नेछन् । यसैगरी, इन्डियन्स वेल्स, मोन्टे कार्लो तथा म्याड्रिड ओपनजस्ता हजार वरीयता अंक पाउने प्रमुख एटिपी प्रतियोगितासमेत सिनरले गुमाउने पक्का छ । यी तीन प्रतियोगितामा कम्तीमा उनले समान पाँच सय अंक गुमाउने एटिपीले जनाएको छ । यस्तोमा उनको शीर्ष स्थान डगमगाउनेछ ।