पोखरा घटना छानबिन गर्न आठसदस्यीय समिति गठन

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रम उद्घाटनका क्रममा भएको घटना (बेलुन पट्केको) छानबिन गर्न आठसदस्यीय समिति गठन भएको छ।
शनिबारको घटनापछि आइतबार गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरेका हुन्।

समितिलाई घटनाको विस्तृत अध्ययन, अनुसन्धान एवं छानबिन गरी आउँदा दिनमा यस्ता कार्यक्रम गर्दा अपनाउनुपर्ने पूर्वसतर्कता र अवलम्बन गर्नुपर्ने उपायहरूसहितको प्रतिवेदन पेस गर्न १५ दिन समय दिइएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठसदस्यीय छानबिन समिति गठन भएको हो। समितिको सदस्यहरूमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरी २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी रहेका छन्। समितिको सदस्यसचिवमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री रहेका छन्। समितिमा विस्फोटक पदार्थविज्ञ एक सदस्य चयन भएको छैन।

भ्रमण वर्ष घोषणा सुरु भएसँगै उद्घाटनका क्रममा स्विचमार्फत पानस (फायर क्यान्डिल) बालिएको थियो। त्यसपछि भ्रमण वर्षको लोगोसहितको बेलुन उडाउने क्रममा पानस बालिएको ज्वालाले हाइड्रोजन ग्यास भरिएका बेलुन भेटाएपछि पड्किएर आगलागी भएको थियो। आगलागीबाट अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। 
 

सुझावित समाचार