कास्की क्रिकेट लिग : राइजिङ र कास्की क्रिकेट क्लब विजयी

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

कास्की जिल्ला टी–२० क्रिकेट लिग प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा राइजिङ क्रिकेट क्लब र कास्की क्रिकेट क्लब विजयी भएका छन्।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशलामा जारी लिगअन्तर्गत पहिलो खेलमा राइजिङले अरण्य ज्योति क्रिकेट क्लबलाई ४१ र अर्को खेलमा कास्कीले लेखनाथ युथ क्रिकेट क्लबलाई १८८ रनले पराजित गरेको हो।

खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको राइजिङले चार विकेट गुमाउँदै १३० रन बनाएको थियो। १३१ रनको लक्ष्य पछ्याएको अरण्य ज्योति ८९ रनमै समेटियो।

राइजिङको जितमा नवीन पोखरेलको ५४ बलमा ५६ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए। अनिश राउतले ३२ रन बनाएका थिए। अरण्य ज्योतिका लागि ओपनर अनिकेत गजुरेलले ५४ बलमा २६, प्रवीन पौडेलले १६ र मुकेश गुरुङले १५ रन बनाएका थिए।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कास्कीले पाँच विकेटको क्षतिमा २३४ रन बनाएको थियो। २३५ रनको लक्ष्य पछ्याएको लेखनाथ जम्मा ४६ रनमा समेटिन पुगेको थियो।
कास्कीका लागि ओपनर सोहेल कुँवर र अर्जुन कुमालले पहिलो विकेटको लागि १४४ रनको साझेदारी गरेका थिए। कुँवरले ३७ बलमा नौ चौका र ३ छक्का प्रहार गर्दै ७४ र कुमालले ३९ बलमा ११ चौका र दुई छक्कासहित ७६ रन बनाएका थिए। रोहित चन्द नटआउट रहँदै ४५ रन बनाएका थिए। 
 

सुझावित समाचार