अर्थविद् चन्दको पुस्तक सार्वजनिक

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

अर्थविद् डा. शेरजंगबहादुर चन्दद्वारा लिखित पुस्तक ‘किज् अफ हाउ टू डेभलप नेपाल’ सार्वजनिक भएको छ। नेपालजस्तो विकासशील राष्ट्रको आर्थिक विकासको स्पष्ट मार्गचित्र पहिल्याउने उद्देश्यले पुस्तक लेखिएकाले लेखकले बताएका छन्। 

इन्दिगो इन्कद्वारा प्रकाशित यो पुस्तक नेपाललाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन आवश्यक रणनीति, नीति र उपायहरूमाथि  केन्द्रित छ। 

नेपालको दिगो विकासका लागि पुस्तकले विभिन्न महत्त्वपूर्ण विषयहरू समेटेको छ। लेखक चन्दले औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक संरचनाको विकास, सञ्चार प्रविधिको सशक्तीकरण, सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारहरूमा जोड, अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने पाठहरूलाई पुस्तकमा समावेश गरेका छन्।

त्यस्तै, स्थानीय समुदायको संलग्नता र फाइदा, वैदेशिक लगानीको आकर्षण, लगानीमैत्री नीति तथा कानुनी सुधार आवश्यकता, नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने रणनीति, नेपालका सम्भावित क्षेत्रहरूमा लगानी अवसर, भौतिक संरचनाको विकास,सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकास, पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारीजस्ता विषय समेटिएका छन्। 

अन्य राष्ट्रहरूबाट सिक्न सकिने पाठहरू, विश्वका सफल अर्थतन्त्रहरूको अध्ययन तथा दक्षिण कोरिया, सिंगापुर, चीन तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने नीतिहरू पनि पुस्तकमा राखिएको छ।

यो पुस्तक नीति निर्माताहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका लगानीकर्ता, अनुसन्धानकर्ताहरू, विद्यार्थी तथा समग्र रूपमा नेपाललाई समृद्ध बनाउन चाहने सबै पाठकका लागि उपयोगी  रहेको प्रकाशक इन्दिगो इन्कले जनाएको छ।  

लेखक चन्दले पुस्तकमा नेपालको आर्थिक नीति तथा समग्र विकास रणनीतिहरूमा विशेष अध्ययन गरेका छन्। पुस्तक अनलाइनमार्फत पनि प्राप्त गर्न सकिने प्रकाशक संस्थाले जनाएको छ। 
 

सुझावित समाचार