नेपालको युवा टोली पराजित

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

राजेश शाहीको प्रशिक्षणमा रहेको नेपालको युवा टोली चिनियाँ युनानसँग २–० ले हार्यो 

मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली चिनियाँ युनान प्रान्तीय टोलीसँग २–० ले पराजित भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युनानलाई जित दिलाउन यू मिनगुई र वाङ बिनहानले गोल गरे । सिमन्त थापाको कप्तानीमा रहेको नेपालले पाएको अवसर सदुपयोग गर्न सकेन । प्रशिक्षक राजेश शाहीले टोलीको योजना सफल नभएको बताएका छन् । नेपालको उमेर समूहबाट खेलिसकेका खेलाडीले युनान टोलीविरुद्ध फाइनल थर्डमा चुकेका थिए । 

अघिल्लो वर्ष ५–१ को जित निकालेको नेपाल यसपटक भने जित निकाल्न असफल भयो । बलियो टोली लिएर आएका युनानले खेलभर नेपाललाई दबाबमा राखेको थियो । प्रशिक्षक शाहीले गोलकिपरमा जियारथ सेखलाई बेन्चमा राखेर कृसल मोक्तानलाई मौका दिएका थिए । कप्तान सिमन्त थापाको नेतृत्वमा पहिलो ११ मा राम थापा, लक्षु थापा, सुजन मगर, नीराजन धामी, सबिन घिमिरे, सरोज दर्लामी, आशिष राई, सबिन लुंगेली र नीरोज चौधरीलाई अवसर दिएका थिए । 

आशिषको खुट्टा भाँचियो
मिडफिल्डर आशिष राई घाइते भएका छन् । उनी खेलको ३७औँ मिनेटमा बल अगाडि बढाउने क्रममा चिनियाँ खेलाडीसँग ठोक्किन पुगेका हुन् । मैदानमै उनको खुट्टा भाँचिएपछि स्टेचरमा राखिएर निकालिएको थियो । आशिषको स्थानमा प्रशिक्षक शाहीले ओमप्रकाश चौधरीलाई ३९औँ मिनेटमा मैदान पठाएका थिए । एमआरआई रिपोर्टपछि मात्रै आशिष कति महिना बाहिर बस्नुपर्ने थाहा हुने एन्फा स्रोतले जनाएको छ । 

दुवै हाफमा गोल
चिनियाँ टोलीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको २१औँ मिनेटमा मिनगुईको गोलमार्फत युनानले अग्रता लिएको थियो । उनले ली सुहानको क्रसलाई पोस्टको दिशा दिएका थिए । रक्षक र मिडफिल्डरले उनलाई फ्री छाडेपछि बक्स बाहिरबाटै सानदार गोल गरेका हुन् । गोलकिपर कृसल मोक्तानले उनको प्रहारको पत्तै पाएनन् । पहिलो हाफ बराबरीमा सकिँदा दोस्रो गोल ७८औँ मिनेटमा भयो । बिनहानले ७८औँ मिनेटमा गोल गर्दै युनानलाई सहज जित दिलाए । उनले काउन्टर अट्याकमा गोल गरेका थिए । गोलकिपर कृसल र कप्तान सिमन्तलाई बिट गर्दै बिनहानले सहज गोल गरेका हुन् । बाँकी समयमा कुनै गोल हुन सकेन । 

सुझावित समाचार