२४औँ आहारारा पोखरा गोल्डकप : पहिलो सहभागितामै उज्वेकिस्तानको ब्ल्याक बुल्स च्याम्पियन

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब पहिलो सहभागितामै आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न २४औँ संस्करणकोे प्रतियोगिताको फाइनलमा ब्ल्याक बुल्सले ६ पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्‍यो । ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले समान एक गोल गरेका थिए । उज्वेकिस्तान टोलीकै अलिजोन अलिजोनोभले आत्माघाती गोल गरे पनि पुलिसले एक गोल फर्कायो । 

नेपालमा खेल्न आएको उज्वेकिस्तानी टोली पहिलो सहभागितामै च्याम्पियन बनेको हो । १४ सदस्यीय टोली मात्रै नेपाल ओर्लिएपछि उमेर समूहबाट खेलेका रक्षक रन्दीप पौडेल र गोलकिपर सुदीप सुनार पनि उज्वेकिस्तानी टिमसँग अनुबन्ध भएका थिए । यता, पुलिस सातौँपटक उपाधि जितेर कीर्तिमान बनाउने योजनामा भने असफल रह्यो । चेतन घिमिरेको प्रशिक्षणमा रहेको पुलिसले ११ पटक आहारारा गोल्डकपको फाइनल यात्रा तय गरेको छ । 

पुलिसका प्रशिक्षक घिमिरेले गोलकिपर शत्रुधन चौधरीका सानो गल्तीले हार व्यहोर्न पुगेको आरोप लगाए । ‘पहिलो गोलमा गोलकिपरले सिल्ली गल्ती गरेपछि पछि पर्‍यौँ । यसपछि पनि गोल गर्ने अवसर थियो । तर, टोलीले दबाब थेक्न सकेन । गोलकिपरको गल्ती नै हारको कारण बन्यो ।’ पहिलो सहभागितामै नेपालमा च्याम्पियन बनेपछि ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजित निसोन्बाइबले सुरुमा दबाब भए पनि जित निकाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । ‘दुवै टोलीले सुरुमा निकै राम्रो खेलेका हौँ । खेल प्रतिस्पर्धात्मक नै थियो,’ उनले भने, ‘गोल नहुँदा रणनीति पनि परिवर्तन गर्नुपर्‍यो । त्यसैले सहज जित निकाल्यौँ । जब हामीले अग्रता बनायौँ । त्यसपछि मात्रै गोल निस्कन थाले ।’

यसअघि वाई पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश पाएको ब्ल्याक बुल्सले अर्को पाहुना टोली भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई क्वार्टरफाइनलमा ३–१ ले पराजित गरेको थियो । यही टोलीले सेमिफाइनलमा पाँचपटकको विजेता थ्री स्टार क्लबलाई ४–० ले हराएको हो । पुलिसले भने उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०, क्वार्टरफाइनलमा पाहुना टोली बेलायतको ब्रिगेड ब्वाइज क्लबलाई २–० र सेमिफाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै उपाधिनजिक पुगेको थियो । 

फाइनलमा पनि आक्रामक ब्ल्याक बुल्स
दुई नेपाली खेलाडीलाई टिममा समावेश गरेको उज्वेकिस्तान टोलीले सुरुबाटै आक्रामक खेल खेल्यो । ब्ल्याक बुल्सले पहिलो हापमा एक र दोस्रो हापमा थप दुई गोल गरेको हो । खेलको ४०औँ मिनेटमा जाखोन्गिरले हानेको फ्रिकिक सीधै गोल भयो । उनको प्रहार पुलिसका गोलकिपर चौधरीले समात्ने क्रममा आफ्नै पोस्टमा छिराएका थिए । ५९ मिनेटमा असिलबेकले अग्रता दोब्बर पारे । यसपटक पुलिसका गोलकिपर र रक्षकले असिलबेको प्रहार पत्तै पाएनन् । ६६औँ मिनेटमा साभाकात्जोनले टोलीको अग्रता तेब्बर पारेका थिए । तीन गोलले पछि परेको अवस्थामा खेलको ७४औँ मिनेटमा अलिजोनले आत्माघाती गोल गरेका हुन् । पुलिसका शिशिर चौधरीको प्रहार उनलाई छुँदै गोल भएको थियो । यसअघि खेलको तीन मिनेटमा अरुण गाहाको हेडर पोस्टमा लागेर फर्कँदा पुलिस अग्रता लिन चुकेको थियो । १४ मिनेटमा मनीष सेढाईंको प्रहारसमेत क्रसबारनजिकबाट बाहिरिएको थियो । 

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेता नेपाल पुलिसले ६ लाख एक हजार पुरस्कार पाए । यसैगरी, सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गरे । 

सुझावित समाचार