सुशासन र सामाजिक न्यायको पक्षमा आफ्नो पार्टी सदैव प्रतिबद्ध छ : प्रचण्ड

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सुशासन र सामाजिक न्यायका पक्षमा सदैव प्रतिबद्ध रहने जनाएका छन्। 

माओवादी दमक नगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन एवं पार्टी प्रवेश तथा खबरदारी सभामा उनले आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचार र सामाजिक विभेद्का विरुद्ध, सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको स्मरण गरे। उनले आर्थिक संकटबाट देशलाई मुक्त बनाउन पार्टीले खबरदारी अभियान सञ्चालनमा जोड दिएको पनि बताए। 
सरकारबाट बाहिरिएपछि पार्टीले जनताका बिचमा गएर सुशासन अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै उनले देशलाई विकास र समृद्धिको पक्षमा लैजान नेपाली जनताले फेरि पनि माओवादीको नेतृत्व चाहेको धारणा राखे। 

पार्टीले देशव्यापी रूपमा खबरदारी सभा, जागरणमूलक कार्यक्रमलगायत अभियान सञ्चालन गरिरहेको जनाउँदै उनले पछिल्लो समय स्थानीय तहको उपनिर्वाचनको नजितादेखि संघीयता, सुशासन, परिवर्तनका पक्षमा माओवादीप्रति जनताको भरोसा बढ्दै गएको देखिएको बताए। 

अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे। सोही अवसरमा पार्टी अध्यक्ष दाहालले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेकाहरूलाई पार्टी प्रवेश गराएका थिए। -रासस

सुझावित समाचार