पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा –११ थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका ६ खयरघारी की ३५ वर्षीया पूजा बम्जन रहेकी छन्।
शुक्रबार साँझ करिब ८ बजेको समयमा चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नं.को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नं. को अटोलाई ठक्कर दिई दुर्घटना भएको थियो।दुर्घटनामा तीनजना घाइते भएकोमा थानाभर्याङमै रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनामा मृतक बम्जनका ११ वर्षीय छोरा अमृत र अटोचालक हेटौँडा–१९ बाँसघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन्। अटोचालकको अवस्था गम्भीर रहेको छ भने अमृतको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्रकचालक चितवन राप्ती न.पा.२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको छ।