सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा दुईजना सदस्य थप गरेको छ । आयोगको उपाध्यक्ष र दुई सदस्य नियुक्त गरेको करिब डेढ महिनापछि सरकारले दुई सदस्य थप गरेको हो ।
नवनियुक्त सदस्यद्वय नृपबहादुर सुनार र कर्णबहादुर कुँवरले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आयोगका उपाध्यक्ष डा. जीवन रानाले नवनियुक्त सदस्यलाई पद तथा गोपानीयताको शपथ गराएका हुन्।
आयोगका नवनियुक्त सदस्य सुनार नेपाली कांग्रेस कैलालीका सचिव हुन् । उनी राजनीतिसँगै विकास साझेदार निकायमा रहेर अनुसन्धान, विकास, लैंगिक समानता, सामाजिक समावेशीकरण, सामाजिक न्यायलगायत क्षेत्रमा पैरवी गर्दै आएका छन् । बैतडीका कुँवर नेकपा एमाले सुदूरपश्चिम सचिवालय सदस्य हुन् ।
सरकारले गत १८ पुसमा कांग्रेस केन्द्रीय सदस्य डा. जीवन रानालाई आयोगको उपाध्यक्ष तथा एमाले नेता हिरा चन्द र कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीलाई सदस्य नियुक्त गरेको थियो ।
प्रदेशका लागि आवश्यक यथार्थ तथ्यांक प्रणालीको विकास गर्ने, उपयुक्त विकास नीतिहरू तथा प्रतिफलमा आधारित योजनाहरू तर्जुमा गर्ने उद्देश्यले १३ मंसिर २०७६ मा प्रदेश नीति तथा योजना आयोग गठन गरिएको थियो ।