एक महिनामा ६१ फरार अपराधी पक्राउ

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

प्रहरीले माघमा अदालतबाट सजाय तोकिएका ६१ जना फरार अपराधी पक्राउ गरेको छ । फरार अपराधी पक्राउ गर्ने सरकारको नीतिअनुसार एक महिनामा ६१ जना फरार अपराधी पक्राउ गरी २५ वर्ष नौ महिना २१ दिन कैद तथा २० लाख ६ हजार ७२७ रुपैयाँ जरिवाना असुलउपर गरिएको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

उनले माघमा मात्र लागुऔषध ओसारपसारमा संलग्न ३६ जनालाई पक्राउ गरिएको बताए । एक महिनामा उनीहरूको साथबाट ५४ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर, १९० ट्याब्लेट नाइट्राजेपाम बरामद गरी ओसारपसारमा संलग्नलाई कानुनी दायरामा ल्याइएको उनको भनाइ छ ।

कार्कीले पछिल्लो महिनामा विभिन्न अपराधमा संलग्न १३५ जनालाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिएको बताए । ‘माघमा विभिन्न प्रकृतिका १४६ वटा मुद्दा दर्ता भएकोमा अपराधमा संलग्न भएको आरोप लागेका १३५ जनालाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिएको छ,’ एसपी कार्कीले भने, ‘३९४ वटा ठाडो उजुरी परेको थियो, तीमध्ये ३८७ वटा फर्स्याेट भएको छ ।’

बाँके प्रहरीले नक्कली जग्गाधनी स्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्नलाई समेत पक्राउ गरी कानुनी कारबाही गरिएको जनाएको छ । माघमा १४ लाख ४३ हजार १९६ रुपैयाँबराबरको अवैध सामान नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । ‘ट्राफिक कारबाहीबाट २५ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ,’ उनले भने ।

See More On

सुझावित समाचार