पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लब पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्ससँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलको खेलमा ब्ल्याक बुल्स फुटबल क्लबसँग ४–० को फराकिलो गोल अन्तरले पराजित हुँदै थ्री स्टार बाहिरिएको हो
हारसँगै पाँचपटकको विजेता थ्री स्टार प्रतियोगिताबाट बाहिरिँदा ब्ल्याक बुल्सले उपाधिका लागि नेपाल प्रहरीको नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
यसअघि दुवै टोलीले वाई पाएर सीधै क्वार्टरफाइन प्रवेश पाएका थिए । क्वार्टरफाइनलको खेलमा थ्री स्टारले मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ र ब्ल्याक बुल्सले अर्को पाहुना टोली भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा बनाएका थिए ।
खेलमा २४औँ मिनेटमा कुभोनचबेक ओलिमोभले गोल गर्दै ब्ल्याक बुल्सलाई सुरुवाती अग्रता दिलाएका थिए। साभाकात्जोन सत्तरोभले दिएको पासलाई उपायोग गर्दै विपक्षी चारजना खेलाडीको बिचबाट पसेर उनले सुन्दर गोल गरेका थिए ।
खेलको पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा तीन गोल थपेको थियो । खेलको सुरुदेखि नै थ्री स्टारलाई दबाबमा राखेको ब्ल्याक बुल्सका लागि ५८औँ मिनेटमा असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । इस्लोमजोन अब्दुकोडिरोभले दिएको क्रसपासलाई उपयोग गर्दै विपक्षी दुई खेलाडीलाई छलाउँदै गोल गरेका थिए।
६३ मिनेटमा साभाकात्जोन सत्तरोभले गोल गर्दै टोलीलाई ३–० को अवस्थामा ल्याए । मैदानको करिब २८ यार्डमा बल पाएका उनले डिबक्सभित्रबाट बललाई जाली चुमाउन सफल भएका थिए। ८७औँ मिनेटमा सायदजामोल दाभ्लाटजोनोभले गोल गर्दै टोलीको अग्रता चौबर बनाएका थिए।
यसअघि खेलको ११ मिनेटमा थ्री स्टारका कमल श्रेष्ठले हानेको फ्री किक सीधै विपक्षी किपर जासुरबेक राजाव्वाईको हातमा पर्दा खेलमा टोलीलाई सुरुवाती अग्रता दिलाउन चुकेका थिए। २८औँ मिनेटमा खेमराज श्रेष्ठले हानेको फ्री किक क्रसबार नजिकैबाट बाहिर जाँदा थ्री स्टार दोस्रोपटक अग्रता लिन चुकेको थियो। ४२औँ मिनेटमा ब्ल्याक बुल्सका असिलबेकको लामो प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो। ४८औँ मिनेटमा साभाकात्जोनका हेड प्रहारसमेत क्रसबार नजिकैबाट बाहिरिएको थियो। ५६ मिनेटमा कमल श्रेष्ठले प्रहार गरेको फ्री किक विपक्षी किपरले पन्च गर्दै विफल पारिदिएका थिए।