आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

दक्षिणी इलामको माई नगरपालिका १ र ९ को संगमस्थलमा पर्ने तेह्रकुने पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायांकन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भिड लाग्ने गरेको छ ।

स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुंगासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए । ‘शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भिडभाड हुने गर्दछ,’ उनले भने ।


पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुने पोखरी पर्यटन महोत्सव हुँदै छ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका १ र ९ को संगमस्थलमा महोत्सव हुन लागेको हो । यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने महोत्सव आयोजक समितिका अध्यक्ष पदम राईले बताए । महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शन गरिने उनले जानकारी दिए ।

‘यहाँका आदिवासी भूमिपुत्रहरूको मौलिक संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि तीनै दिन अलगअलग कार्यक्रम तय गरिएको छ,’ अध्यक्ष राईले भने, ‘प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।’ किराँतीहरूको प्रथम राजा ‘यलम्बर’को मूर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ सांगीतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पहिलो दिन गायक तथा संगीतकार कृष्णभक्त राई, दोस्रो दिन हास्यकलाकार पदम राई र तेस्रो दिन हास्य कलाकार विल्सनविक्रम (तोक्मे बुढा) को प्रस्तुति रहनेछ ।

यसैगरी, लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला सिली, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको संगिनी नृत्यलगायत प्रस्तुत हुने उनले बताए । महोत्सवले तेह्रकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताए । ‘विगत चार वर्षदेखि यहाँका स्थानीयले बर्सेनि महोत्सव आयोजना गरिरहनुभएको छ,’ उनले भने, ‘यसले तेह्रकुने पोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुगिरहेको छ भन्नेमा विश्वस्त छु ।’

उनले तेह्रकुने पोखरीको प्रवर्द्धन र संरक्षणमा नगरको तर्फबाट सधैँ साथ रहने बताए । सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा अवस्थित तेह्रकुने पोखरीसम्मको सडक विस्तार जारी छ । अन्य भौतिक पूर्वाधार पनि धमाधम बनिरहेकाले यो पोखरी अधिकभन्दा अधिक पर्यटकको प्रमुख गन्तव्य बन्ने अध्यक्ष राईको विश्वास छ । रासस

सुझावित समाचार