ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को पछिल्लो प्रतिवेदनले के संकेत गरेको छ ?
टिआईको पछिल्लो प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन्झन् मौलाउँदो छ भन्ने संकेत गरेको छ ? एक दुई अंक तलमाथि हुँदैमा ठुलो अन्तर देखिने होइन । सामान्यतः संसारभर १३ वटा ‘डेटा सोर्स’बाट भ्रष्टाचार मापन हुन्छ । नेपालको हकमा चाहिँ ६ वटा डेटा सोर्सबाट भ्रष्टाचार मापन गरिएको छ । त्यसमा हामीकहाँ सार्वजनिक सेवा प्रवाह, सार्वजनिक खरिद प्रक्रिया, न्यायिक प्रक्रियालगायत सर्वत्र भ्रष्टाचार बढेको संकेत गरेको छ ।
नेपालमा भ्रष्टाचार बढ्नुका कारण के के देखिएका छन् ?
टिआईको ‘ग्लोबल करप्सन ब्यारोमिटर’ अन्तर्गत जनतासँग प्रत्यक्ष सोधेर पनि अध्ययन गरिएको हुन्छ । त्यसमा नेपाली जनताले सरकारको कामचाहिँ राम्रै भएको तर भ्रष्टाचार भने सबैतिर बढेको स्विकारेको देखिन्छ । यसले जनताले सत्तामा पुग्नेले काम गर्दा अलिअलि भ्रष्टाचार गरिहाल्छ नि भनेर स्विकारेको संकेत गरेको छ । यसबाट जनताले भ्रष्टाचारलाई सामान्य मानेको देखिन्छ । जसले गर्दा सत्तामा रहनेहरूलाई भ्रष्टाचार गर्न बल पुगेको देखिन्छ । शासकहरूले आफूलाई ऐन, कानुनभन्दा माथि ठान्नुले पनि भ्रष्टाचारलाई थप बढाएको छ ।
यसरी निरन्तर भ्रष्टाचार बढ्नुले कस्तो प्रभाव पार्ला ?
भ्रष्टाचारका कारण विकास निर्माण प्रभावित भएको छ । न्याय निरूपणमा ढिलासुस्ती बढेको छ । समयमै फैसला नगर्ने, झुलाएर राख्ने प्रवृत्ति बढ्दो छ । यो पनि भ्रष्टाचारकै अर्को रूप हो । नीतिगत भ्रष्टाचार बढेको छ । ऐन, कानुन या अध्यादेश ल्याएर भ्रष्टाचारलाई प्रश्रय दिन खोजिएको छ । भ्रष्टाचारका कारण सार्वजनिक सेवा प्रवाहमा असर परेको छ । सुशासन नाममात्रको भएको छ । शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत सर्वत्र समस्या बढेका छन् । जनतामा असन्तुष्टि चुलिएको छ । युवा पलायन बढ्दो क्रममा छ । समग्रमा भ्रष्टाचारले देशलाई धेरै पछाडि धकेलेको छ ।