शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्तलाई धनगढीमा बुधबार नागरिक अभिनन्दन गरिएको छ । पन्तले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै धनगढी उपमहानगरपालिकाको संयोजनमा नागरिक अभिनन्दन गरिएको हो ।
प्राडा पन्तलाई रथारोहण गरेर बाजागाजासहित धनगढी बजार परिक्रमा गराइएको थियो । बजार परिक्रमापछि पार्कमोडमा आयोजित कार्यक्रममा उपमहानगरका प्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरे ।
०३७ सालदेखि धनगढीमा कर्मथलो बनाएर काम गरिरहेका पन्तले सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । धनगढीको पञ्चोदय माविमा सुरु गरिएको वाणिज्य क्याम्पसमा १ माघ ०३७ बाट पठनपाठन सुरु गरेका पन्त अहिले पनि प्राज्ञिक कार्यमा सक्रिय छन् । सोही वर्ष वाणिज्य क्याम्पसलाई कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको छ ।
पन्त ०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । उनले ०६६ सालसम्म क्याम्पस प्रमुख भएर काम गरेका थिए । एक सय ४५ जना विद्यार्थीबाट सुरु गरिएको यो क्याम्पस अहिले देशभरमै सबैभन्दा बढी विद्यार्थी भएको क्याम्पसमध्ये पर्छ । सुदूरपश्चिमकै शैक्षिक धरोहरको रूपमा रहेको कैलाली बहुमुखी क्याम्पसबाट हजारौँ विद्यार्थीले शिक्षा हासिल गरेका छन् ।
डोटीको उच्चाकोटमा जन्मिएका पन्तले भारतबाट विद्यावारिधि गरेका थिए । उनले कक्षा ८ सम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए । दरबार हाइस्कुलबाट ०२८ सालमा एसएलसी पास गरेका पन्तले त्रिचन्द्र कलेजबाट ०३१ सालमा आइकम गरे । यस्तै, शंकरदेव क्याम्पसबाट बिकम र ०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको गरेका थिए ।
उनी ०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्यो। डा. पन्त त्यसको रजिस्ट्रार नियुक्त भएका थिए। चारवर्षे कार्यकाल पूरा गरेपछि ०७२ सालमा त्यहाँबाट बिदा भएपछि फर्केर कैलाली बहुमुखी क्याम्पसमा पुनः पढाउन थाले । उनी ०७४ सालमा सेवानिवृत्त भएका थिए।
धनगढी उपमहानगर प्रमुख हमालले सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा पन्तले गरेको योगदानको कदर गर्दै अभिनन्दन गरिएको बताए । ‘कैलाली बहुमुखी क्याम्पस थिएन। कैलाली व्यवस्थापन क्याम्पस थियो। पछि मात्र कैलाली बहुमुखी क्याम्पस नाम राखिएको हो। सुरुमा भौतिक संरचना पनि थिएन,’ हमालले भने, 'क्याम्पसलाई अहिलेको अवस्थामा ल्याउन उहाँको भूमिका महत्त्वपूर्ण छ। त्यसैले, उहाँलाई नागरिक अभिनन्दन गरेका हौँ।’