रुकुमपूर्वमा हजुरआमा–नातिको हत्या, आरोपी पनि मृत भेटिए

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर- ४, साकिममा हजुरआमा र नातिको हत्या भएको छ । हत्याका आरोपी पनि मृत भेटिएपछि घटना रहस्यमय बन्न पुगेको छ । 

अन्दाजी ६० वर्षीया ढाटी बुढा र  आठ महिनाका नाति समीर बुढाको हत्या भएको हो । हत्याका आरोपी मानिएका ५१ वर्षीय चन्द्रसिङ पुनको शव पनि नजिकै खुल्खुले खोलाको खोचमा भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वका प्रमुख डिएसपी माधवराज खरेलका अनुसार  पुनाईको पनि टाउकोमा चोट रहेको छ । ‘उनको लडेर मृत्यु भएको हो कि, अरू केही हो भनेर बुझ्दै छौँ,’ डिएसपी खरेलले भने । हत्यापछि उनले आत्महत्या गरेको हुन सक्ने आशंकामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

हजुरआमा र नातिको भने खुकुरी प्रयोग गरी हत्या भएको हो । आपसी विवादमा यस्तो हत्या भएको स्थानीयले बताएका छन् । उनीहरू छिमेकी हुन् । 

तीनैजनाको शव पोस्टमार्टमका लागि अस्पताल लगेर विस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले बताए । 

घटनापछि गाउँ नै शोकमा डुबेको छ। 

सुझावित समाचार