माओवादीको युवा संगठन वाइसिएल नेपालले पार्टीले सिनियर युवा नेताको मूल्यांकन नगरेकोमा असन्तुष्टि जनाएको छ । सिफारिस गर्दा पनि उचित मूल्यांकन नभएकोमा वाइसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङको ध्यानाकर्षण गराएका छन् ।
‘वाइसिएलमा सिनियर उपाध्यक्षहरूलाई केन्द्रीय समितिको कुनै भूमिका हुनुपर्छ भनेर मूल्यांकन गरिदिन सिफारिस गरेका थियौँ, तर भएन । सोहीकारण पार्टी अध्यक्ष र महासचिवको ध्यानाकर्षण गराइएको हो,’ उनले भने । सापकोटाले उपाध्यक्षहरू मञ्जु बम, केहरसिंह कुँवर, उमेश घोरासैनी, गोगन मल्ल र सुवित ढुंगानालाई केन्द्रीय कमिटी सदस्य वा केन्द्रीय प्रतिनिधि बनाउन सिफारिस गरेका थिए ।
वाइसिएलका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षद्वय मिङ्माडन्डु शेर्पा र गणेश शाही भने वैकल्पिक केन्द्रीय सदस्य छन् । वाइसिएल इन्चार्ज सापकोटा र अध्यक्ष सुबोधराज शेर्पाली केन्द्रीय समितिको पूर्णसदस्य छन् । महासचिव देव गुरुङले ध्यानाकर्षण भएको संक्षिप्त प्रतिक्रिया दिए ।
पूर्वविद्यार्थी नेतालाई जिम्मेवारी
उमेरहदका कारण विद्यार्थी राजनीतिबाट बिदा भएका अखिल क्रान्तिकारीका नेताहरूले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् । जिपी मैनालीलाई बागमती प्रदेश, तुकमान महरालाई लुम्बिनी प्रदेश, मिलन एमसीलाई लुम्बिनी प्रदेश, लक्ष्मीप्रसाद जोशीलाई सुदूरपश्चिम प्रदेश र नरेश रेग्मीलाई नीति विभागको प्रतिनिधि तोकिएको छ । प्रवीणा अधिकारीलाई गण्डकी प्रदेश, गजेन्द्रप्रसाद देवलाई मधेश प्रदेश, मदन भुललाई सुदूरपश्चिम प्रदेश, मदन भट्टराईलाई कोशी प्रदेश र सूर्यनारायण साहलाई मधेश प्रदेशको प्रतिनिधि तोकिएको छ ।
पूर्वविद्यार्थी नेताहरू पवन कार्की र क्षितिज सापकोटालाई बागमती प्रदेश, नारायण खनाललाई नीति विभाग, अम्मराज शाहीलाई कर्णाली प्रदेश, अच्युत भट्टलाई सुदूरपश्चिम प्रदेश, केशव रावल र दिपेश पुनलाई लुम्बिनी प्रदेशको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।
अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षका दाबेदार रहेका उनीहरू ३२ वर्षे उमेरहद लागू भएपछि विद्यार्थी राजनीतिबाट बाहिरिएका थिए । उनीहरूलाई पार्टीमा व्यवस्थापन गर्न उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले महासचिव गुरुङसमक्ष उनीहरूलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस गरेको थियो ।