म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।

गत वर्षको तुलनामा यसपालि सुन्तला उत्पादन २४.७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग–किराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताए ।

‘गत वर्ष तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार ७८१ मेट्रिकटन उत्पादन भएको छ,’ उनले भने, ‘म्याग्दीका कृषकले यसवर्ष रु. ३३ करोड ४६ लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् ।’

सरदर प्रतिकिलो रु. ७० का दरले सुन्तला बिक्री भएको छ । यस वर्ष प्रतिहेक्टर ११.२५ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए । गत वर्ष प्रतिहेक्टर ८.६ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको थियो ।

जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । गत वर्ष रु. २४ करोड मूल्यबराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाबारे उत्पादनको अवस्था पहिचान गरेका हुन् । उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मंगला गाउँपालिका– ३ दहका कृष्णलाल सापकोटाले बताए ।

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् । यस वर्ष चार सय रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
 

सुझावित समाचार