मच्छिन्द्र फुटबल क्लब २४औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा थ्री स्टार क्लबले मच्छिन्द्रलाई टाइब्रेकरमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक क्वार्टरफाइनलको ९० र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि नतिजा टाइब्रेकरबाट भएको हो ।
टाइब्रेकरमा मच्छिन्द्रका विशाल घलानको प्रहार क्रसबारमा लागेको थियो । थ्री स्टारका दीपेश घले, फोडे फोफोना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे । मच्छिन्द्रका लागि दिवाकर चौधरी र सनिश श्रेष्ठले मात्र गोल गरे । आदित्य शाक्यको प्रहार विपक्षी गोलरक्षक सरिन जिसीले विफल पारेका थिए ।
थ्री स्टारले सेमिफाइनलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड वा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीमध्ये विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार पाँचपटकको विजेता हो । मच्छिन्द्रले यसअघि नेपाल एपिएफ क्लबलाई २–० ले हराउँदै थ्री स्टारसँगको भेट पक्का गरेको थियो । थ्री स्टार बाई पाएर अन्तिम आठमा पुगेको हो । सोमबार चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
प्रतिस्पर्धात्मक क्वार्टरफाइनल
फर्ममा रहेको मच्छिन्द्रले सुरुको दोस्रो मिनेटमै पोस्ट चार्ज गरेको थियो । आन्द्रेसले डिबक्सभित्रबाट प्रहार गरेको बल क्रस बारनजिकैबाट बाहिरिएको थियो । खेलको २०औँ मिनेटमा थ्री स्टारका दीपेश घलेकोे प्रहार क्रसबारमा लागेको थियो । पहिलो हाफको तेस्रो अतिरिक्त समयमा मच्छिन्द्रका ओमालाजा नुरिन करिमको सटीक फ्रिकिक थ्री स्टारका गोलरक्षक अभिषेक बरालले विफल पारे । खेलको ११६औँ मिनेटमा थ्री स्टारका फोडे फोफोनाको प्रहार बारमा लागेर फर्केको थियो ।
खेलाडी सेट हुन सकेनन् : गणेश खड्का, प्रशिक्षक, थ्री स्टार
पहिलो खेल भएकाले खेलाडी सेट नभएको देखियो । छोटो तयारीपछि प्रतियोगितामा सहभागिता जनाएको हो । मच्छिन्द्रविरुद्ध प्राप्त अवसरमा गोल भएन । यसकारण खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो । दोस्रो खेलमा खेलाडीबिच तालमेल मिल्ने आशा छ ।
मिडफिल्ड चलेन : सन्तोष न्यौपाने, प्रशिक्षक, मच्छिन्द्र
विपक्षीको तुलनामा धेरै गोल अवसर सिर्जना गरेका थियौँ । प्राप्त अवसरलाई खेलाडीले सदुपयोग गर्न जानेनन् । खेलमा मिडफल्ड त्यति राम्रोसँग चलेन । योजनाअनुसार खेलाडीले खेल्न सकेनन् । एन्फाले एकै समयमा खेलतालिका बनाउँदा समस्या छ ।