किङडम हिमालयन र आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । किङडम जुनियर पुरुष तथा फेरिल्यान्ड जुनियर महिलामा च्याम्पियन बनेका हुन् ।
जुनियर पुरुषको आइतबार भएको फाइनलमा किङडमले न्युटनलाई ३५–२५ ले पराजित गर्यो । किङडमका प्रवेश लामाले १६ स्कोर गरे । किङडमले पहिलोपटक उपाधि जितेको हो । जुनियर महिलाको उपाधि भिडन्तमा फेरिल्यान्डले बौद्ध चिल्ड्रेन हेभेनमाथि २७–१० को जित निकाल्यो । फेरिल्यान्डकी करुणा बोगटीले १२ स्कोर गरिन् । नौ दिनको अन्तरमा फेरिल्यान्डको यो दोस्रो उपाधि हो ।
फेरिल्यान्डले १८ माघमा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर महिलामा उपाधि जितेको थियो । जुनियर पुरुषमा किङडमका अच्युत तामाङ तथा जुनियर महिलामा फेरिल्यान्डकी रेणुका तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर पुरुषमा न्युटनका आशिष राई तथा जुनियर महिलामा बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर पुरुषमा ग्रिनल्यान्डका विश्वास केसी तथा जुनियर महिलामा न्युटनकी आइरिन राना उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । विजेतालाई बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीलगायतले पुरस्कृत गरे । एक सातासम्म चलेको प्रतियोगिताको जुनियर पुरुष र जुनियर महिलामा समान १२ टोलीले भाग लिएका थिए ।