रीत गौतमको शतक प्रेरित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको च्याम्पियन बनेको छ । आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा क्रिकेट एक्सिलेन्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीविरुद्ध एक सय सात रनको फराकिलाे जित निकाल्यो ।
टस जितेर ब्याटिङ रोजेको क्रिकेट एक्सिलेन्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २६१ रनको योगफल तयार पारेको थियो। प्रत्युत्तरमा ग्रेट हिमालयन २६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ५४ रन बनायो । ग्रेट हिमालयका लागि इशान पाण्डेले ८६ बलमा अविजित १०७ रन बनाए । तर, अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् । रितेश आग्रीले २६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । क्रिकेट एक्सिलेन्सका लागि पृथु बाँस्कोटा, विवेकानन्द सहानी र दयानन्द मण्डलले समान दुई विकेट लिए ।
त्यसअघि क्रिकेट एक्सिलेन्सका लागि रितले १२९ बलमा ११३ रनको योगदान गरे । यसैगरी, वीरेन्द्र धनादीले ७९ बलमा ६७ र पृथु बाँस्कोटाले ४१ रन जोडे । ग्रेट हिमालयका लागि इशान पाण्डेले चार, किरण बुढामगरले तीन र दर्सिल विष्टले एक विकेट लिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी ग्रेट हिमालयका इशान पाण्डे घोषित भए । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरका सोनु देवकोटा उत्कृष्ट खेलाडी र न्यू भिजन क्लबका मोन्सन सिंह उत्कृष्ट बलर घोषित भएका छन् ।