आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । शनिबार सामाखुसीमा ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पिय बन्यो ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल रोलबल संघको सहयोगमा भएको प्रतियोगितामा २७ अंकसाथ श्री शिवा दोस्रो भयो । तेस्रो स्थानको अल्कापुरीले ७ अंक जोड्यो । प्रतियोगिताको प्रिस्कुलको महिलामा त्रिशा बजगाईं, यू–६ महिलामा स्वरा खनाल, ६–८ वर्ष महिलामा आर्या कार्की, ८–१० वर्ष महिलामा जियाना अर्याल र १२–१४ वर्ष महिलामा सान्भी श्रेष्ठले ज्ञान संस्कारलाई स्वर्ण पदक दिलाए । श्री शिवाका चार खेलाडीले स्वर्ण जिते ।
श्री शिवाका लागि यू–६ पुरुष शाश्वतराज विडारी, ६–८ वर्ष महिला केन्जो राई, ८–१० वर्ष पुरुषमा रेमन गुरुङ र १०–१२ वर्ष महिलामा आसिया तामाङले स्वर्ण हात पारे । प्रिस्कुल पुरुषमा अम्बेल किड्सका प्रियान्श श्रेष्ठ, १०–१२ वर्ष पुरुषमा एसिया प्यासिफिकका प्रिन्स श्रेष्ठ र १२–१४ वर्ष पुरुषमा अल्कापुरीका अमन चौधरी पहिलो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, ज्ञान संस्कार इन्टरनेसनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर बडू, ज्ञानसंस्कारकी प्रधानाध्यापक निलम बानियाँ बडूलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका हुन् ।
प्रधानाध्यापक बडूले स्केटिङ खेल अहिलेका बालबालिकामाझ निकै लोकप्रिय बन्दै गएको बताउँदै नेपाली खेलकुदको विकास र विस्तारमा ज्ञान संस्कारले महत्वपूर्ण योगदान गरेको बताइन् । एकदिने प्रतियोगितामा दुई सय खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।