अभिभावकले छाडेपछि एक्लिएका बालिका जो यौन दुरुपयोगमा परे
घटना १ : लैनचौर २५ (०८०/८१)
गत १२ असारमा जिल्ला अदालत काठमाडौंमा एक मुद्दा दायर भयो, जसमा चार भारतीय र तीन नेपाली प्रतिवादी थिए । मुद्दा थियो जबर्जस्ती करणी तथा करणी उद्योग र मानव बेचबिखन तथा ओसारपसारको । सुदूरपश्चिमको एक विकट जिल्ला घर भएकी १७ वर्षकी ती किशोरीलाई केशवसिंह धामीले काम लगाइदिने भनी आफ्नो होटेलमा यौन व्यवसायमा लगाएको प्रहरी अनुसन्धानले देखाएको थियो । सामाखुसी बस्ने निकेशचन्द्र प्रधानलाई मध्यस्थकर्ताका रूपमा मुद्दा चलाएको थियो । २० जेठमा बालिकाको बलात्कार भएको र यौन व्यवसायमा लगाएको अनुसन्धानले देखाएको थियो । त्यसबापत धामीले प्रतिव्यक्ति आठ हजारसम्म लिएर किशोरीलाई पाँच सय रुपैयाँ दिन्थे ।
घटना २ : बबरमहल २६ (३३७)
गत भदौ अन्तिममा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मानव बेचबिखन तथा ओसारपसारको एउटा मुद्दा दायर भयो । सिन्धुलीका ३६ वर्षीय राजु शाही र रामेछापका २९ वर्षीय राजकुमार शाही प्रतिवादी थिए । रामेछापकै गोरे नेवा खड्गी र नुवाकोटका विक्रम आलेमगर फरार रहेको भन्दै अभियोगपत्र दायर भएको थियो । गत ७ भदौमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले कोटेश्वरस्थित एक गेस्टहाउसबाट पाँच बालिका तथा किशोरीलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये उनी एक थिइन् । उनलाई यौन व्यवसायमा लगाउने, ग्राहक खोज्ने र सुरुमा जबर्जस्ती करणी गरेका व्यक्तिसमेतलाई प्रतिवादी बनाई मुद्दा चलाइएको थियो । मुद्दाका प्रतिवादीले किशोरीलाई निकै कम पैसा दिने र बिरामी हुँदासमेत ग्राहकसँग शारीरिक सम्बन्ध राख्न लगाएको अनुसन्धानमा खुलेको थियो ।
घटना ३ : बबरमहल २६ (१०२)
१५ वर्षीया एक बालिकासमेत अन्य पाँच बालिकालाई १३ जेठ ०७९ मा शक्ति समूह र प्रहरी टोलीले काठमाडौं टोखाको एक खाजाघरबाट उद्धार गरे । पीडित बालिकाका अनुसार खाजाघरकी सञ्चालक चिनीमाया लिम्बूले उनलाई दैनिक पाँचदेखि सातजनासँग शारीरिक सम्पर्क गर्न लगाउँथिन् । काम छाड्छु भन्दा हत्या गरेर फालिदिने धम्की लिम्बूबाट पाउने गरेको र त्रासका कारण भाग्न नसकेको बयान बालिकाले प्रहरीसमक्ष दिएकी थिइन् । अनुसन्धानपछि बालिकासमेतको जाहेरीले नेपाल सरकार वादी भई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ६ पुस ०७९ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
यी घटनामा समानता के छ भने तीनै बालिका अभिभावकविहीन हुन् । नातेदारले समेत बेवास्ता गरेपछि गुजाराका लागि १८ वर्ष नपुग्दै यौन व्यवसायमा लगाइएको अनुसन्धानले देखाउँछ ।
विभिन्न कारणले अभिभावकविहीन बनेका बालिका मानव बेचबिखनको बढी जोखिममा पर्ने गरेका छन् । दैनिक गुजारा चलाउन आवश्यक आर्थिक जोहोका लागि जागिर गर्ने क्रममा उनीहरूको दुरुपयोग हुने गरेको हो ।
सुदूरपश्चिमको एक विकट जिल्ला घर भएकी १७ वर्षकी लैनचौर २५ (०८०/८१) का बुबाले सौतेनी आमा ल्याएर छुट्टै बसेपछि आमाले पनि अर्कैसँग विवाह गरिन् । अब उनलाई आफ्नै बलबुतामा चल्नुपर्ने बाध्यता आइपर्यो । उनले आफैँले काम गरेर अध्ययनलाई निरन्तरता दिइरहेकी थिइन् । पछि विदेश जानका लागि कोरियन भाषा पढ्न गाउँबाट काठमाडौं आइन् ।
तर, आफ्नो होटेलमा काम दिएका केशवसिंह धामीले उनी अभिभावकविहीन रहेको र आर्थिक समस्यामा परेको फाइदा उठाउँदै धेरै पैसा कमाउन यौनधन्दामा लाग्न प्रेरित गरे । गत २० जेठमा उनको बलात्कार भएको र वेश्यावृत्तिमा लगाएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसबापत धामीले प्रतिव्यक्ति आठ हजारसम्म लिएर किशोरीलाई पाँच सय रुपैयाँ दिन्थे । धामीसहित तीन नेपाली र चार भारतीयलाई प्रतिवादी बनाएर १२ असारमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ । जबर्जस्ती करणी तथा करणी उद्योग र मानव बेचबिखन तथा ओसारपसारको यो मुद्दामा सामाखुसी बस्ने निकेशचन्द्र प्रधानलाई पनि मध्यस्थकर्ताका रूपमा प्रतिवादी बनाइएको छ ।
२६ बबरमहल (३३७) को घटना पनि उस्तै छ । उनी ११ वर्षको हुँदा परिवार काठमाडौं आयो र डेरा गरी बस्न थाल्यो । तर, उनी १३ वर्ष पुग्दा अमाले दोस्रो विवाह गरिन् र परिवारका अन्य सदस्यले पनि उनको वास्ता गरेनन् । घरको आर्थिक अवस्था पनि ठिक थिएन । उनले काम गरेकोमध्ये एउटा गेस्ट हाउसले मासिक तीन हजार ज्याला दियो । अर्को काम गर्न जाँदा उनले ६ महिनाको पारिश्रमिक पाइनन् । खाजाघरमा काम गर्न थालेको एक महिनामै उनी बलात्कारको सिकार हुनुपर्यो र जबर्जस्ती यौनधन्दामा लाग्न उनलाई बाध्य बनाइयो ।
गत ७ भदौमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ५ बालिका तथा किशोरीलाई नियन्त्रणमा लिएकामा एक उनी थिइन् । उनलाई वेश्यावृत्तिमा लगाउने, ग्राहक खोज्ने र सुरुमा जबर्जस्ती करणी गरेका व्यक्तिसमेतलाई प्रतिवादी बनाई भदौ अन्तिममा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मावन बेचबिखन तथा ओसारपसारको मुद्दा दायर भएको छ । सिन्धुलीका ३६ वर्षीय राजु शाही र रामेछापका २९ वर्षीय राजकुमार शाही प्रतिवादी छन् । रामेछापकै गोरे नेवा खड्गी र नुवाकोटका विक्रम आलेमगर फरार रहेको भन्दै अभियोगपत्र दायर भएको थियो । उनीहरूले किशोरीलाई निकै कम पैसा दिने र बिरामी हुँदासमेत ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न लगाएको अनुसन्धानमा खुलेको थियो ।
त्यस्तै, २६ बबरमहल (१०२) का आमाबुवा उनी दुई वर्षकी हुँदा नै छुट्टिएका थिए । मावली हजुरआमासँग हुर्किएकी उनले ७ कक्षासम्म गाउँमै पढिन् । निकै पछि आमा विदेशबाट आएपछि भने तारकेश्वरको फुटुङमा फेरि कक्षा ७ मै नाम लेखाइन् । पछि आमाले दोस्रो विवाह गरेको र एउटै घरमा बस्ने क्रममा सौतेनी बुवा र भाइहरूसँग झगडा भएपछि उनी घर छाडेर भागिन् ।
१३ जेठ ०७९ मा शक्ति समूह र प्रहरी टोलीले काठमाडौंको टोखास्थित एक खाजाघरबाट उद्धार गरेका ६ बालिकामध्ये एक (१५ वर्षीया) उनै थिइन् । पीडित बालिकाका अनुसार खाजाघरकी सञ्चालक चिनीमाया लिम्बूले उनलाई दैनिक ५ देखि ७ जनासँग शारीरिक सम्पर्क गर्न लगाउँथिन् । काम छाड्छु भन्दा हत्या गरेर फालिदिने धम्की लिम्बूबाट पाउने गरेको र त्रासका कारण भाग्न नसकेको बयान बालिकाले प्रहरीसमक्ष दिएकी थिइन् । अनुसन्धानपछि बालिकासमेतको जाहेरीले नेपाल सरकार वादी भई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ६ पुस ०७९ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
प्रहरीका अनुसार आन्तरिक (देशभित्रका) मानव बेचबिखन र ओसारपसारका घटनामा बालिका नै बढी हुने गरेका छन् । तथ्यांकले पनि त्यही देखाउँछ । प्रहरीले उद्धार गरेकोमा र पीडित हुनेमा बालकहरू निकै न्यून छन् । ‘हामीसँग ठ्याक्कै त्यस्तो तथ्यांक त छैन । तर, हामीले उद्धार गरेका बालबालिकामा घरपरिवारबाट माया नपाएका, अभिभावकबाट टाढिएका, धेरै सन्तान भएका परिवारका बालबालिका र न्यून आर्थिकस्तर भएकाहरू बढी देखिन्छन्,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी दीपक साहले भने, ‘डिस्को, मसाज सेन्टर, डान्स बारजस्ता रात्रिकालीन व्यवसायमा उनीहरूको श्रम र शारीरिक तथा यौन शोषण भइरहेको देखिन्छ ।’ उनका अनुसार पीडकहरूले यस्ता बालबालिकालाई डरत्रास देखाउन र फकाउन पनि सजिलो मान्छन् । रात्रिकालीन र मनोरञ्जनको क्षेत्रमा किशोरीहरूको इच्छाविपरीत प्रयोग र शोषण बढिरहेको उनको भनाइ छ ।
ब्युरोका अनुसार यस्ता घटनामा बढीजसो बालिका नै पीडित हुने गरेका छन् । बालकको संख्या न्यून छ । गत आर्थिक वर्ष बालबालिका जोडिएको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ७३ मुद्दा दायर भएकामा ती सबैमा पीडित बालिका नै थिए । त्यस्तै, चालू आर्थिक वर्षमा पनि हालसम्म ४१ मुद्दा दर्ता भएकामा सबै बालिका नै छन् ।
काठमाडौं महानगरपालिकासँग मिलेर बालश्रम तथा जोखिममा रहेका बालबालिका उद्धार कार्यमा संलग्न सोनी भट्टराई पनि आमाबुवासँगै बस्ने बालबालिकाहरू जोखिमयुक्त क्षेत्रमा कम भेटिने र बेचबिखनमा सजिलै नपर्ने गरेको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘परिवारमा हुने विवादले नै अधिकांश बालबालिका बेचबिखनमा परेको देखिन्छ । डिभोर्स भएका, अलग्गिएका, आमाबुवाबिच झै–झगडा भइरहने परिवारका बालबालिकाहरू यस्ता समस्यामा बढी परेका छन् ।’
बालबालिकालाई बेवारिसे बनाउनेलाई न कानुन न कारबाही
बालबालिकासम्बन्धी ऐनले १८ वर्ष नपुगेका बालबालिकालाई संरक्षणको अधिकार दिएको छ । बाबु, आमा र परिवारका अन्य सदस्य तथा संरक्षकबाट उचित हेरचाह, संरक्षण र पालनपोषणको अधिकार हुने ऐनमा उल्लेख छ ।
उपदफा(२) मा बाबुआमाको सम्बन्धविच्छेद भएको वा अन्य कुनै कारणले अलग बसेमा बालबालिकाको पालनपोषणको खर्च आर्थिक क्षमताअनुसार दुवैले व्यहोर्नुपर्ने व्यवस्था छ । तर, नेपालको सन्दर्भमा कतिपय अवस्थामा विवाह, सम्बन्धविच्छेदजस्ता घटना दर्ता नै नहुने भएकाले, दोस्रो विवाह सहज भएको तथा उमेर नपुग्दै विवाह हुने, सन्तान जन्मिनेजस्ता घटना भएकाले पनि यो व्यवस्थाको पालना कम हुने गरेको छ ।
‘कुनै पनि बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकले आफ्ना छोराछोरी वा संरक्षणकत्वमा रहेका बालबालिकालाई बेवारिसे छाड्न वा त्याग्न पाउनेछैन,’ ऐनको दफा ७(३) मा छ । तर, व्यवहारमा भने कानुनअनुसार हुने गरेको छैन । ऐनको परिच्छेद ७ मा यो अधिकार स्थानीय तहले प्रचलन गराउने उल्लेख छ, जसका लागि न्यायिक समिति छन् र सबै स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था छ । सीधै उच्च अदालतमा पनि निवेदन दिन सकिने व्यवस्था छ ।
राज्यका संयन्त्रहरू सक्रिय भए पनि त्यो पर्याप्त नभएको बालबालिकाको क्षेत्रमा कार्यरतहरूको गुनासो छ । आमाबाबु वा संरक्षकले बालबालिकालाई छाडेका घटना स्थानीय तह र प्रहरीमा जानकारी गराउन सकिन्छ । तर, व्यवहारमा त्यस्तो नदेखिएको र उनीहरू हिंसाको जोखिममा पर्ने गरेका छन् ।
‘अन्य देशमा बालबालिकालाई छाड्नै नपाउने कानुन छ । छाडेमा राज्य आफैँले त्यसको जानकारी लिई आमाबुवालाई दायित्व दिन्छ र सजाय पनि हुने गर्छ । तर, हाम्रो परिवेशमा यस्तो भइरहेको हामी देख्दैनौँ,’ डिएसपी साहले भने ।
डिएसपी दीपक साह : मानव बेचबिखन अनुसन्धान ब्युरो
हामीसँग ठ्याक्कै तथ्यांक त छैन । तर, हामीले उद्धार गरेका बालबालिकामा घरपरिवारबाट माया नपाएका, अभिभावकबाट टाढिएका, धेरै सन्तान भएका परिवारका बालबालिका र न्यून आर्थिकस्तर भएकाहरू बढी देखिन्छन् । डिस्को, मसाज सेन्टर, डान्स बारजस्ता रात्रिकालीन व्यवसायमा उनीहरूको श्रम र शारीरिक तथा यौन शोषण भइरहेको देखिन्छ । उनीहरूलाई फकाउन र त्रास देखाउन पनि सजिलो हुन्छ । विदेशमा भए बालबालिका वयस्क नभएसम्म आमाबुवाकै जिम्मामा हुन्छन् । राम्रो शिक्षा र लालनपालन नपाएमा अभिभावकलाई मुद्दासमेत हाल्न सकिन्छ । तर, नेपालमा त्यस्तो कानुन छैन ।
सोनी भट्टराई : बाल अधिकार अभियन्ता
डान्स बार, मसाज, पार्लरजस्ता स्थानमा बालश्रममा लगाएको भेटिन्छ र कतिपय अवस्थामा मञ्जुरीविना ओसारपसार भएको र मानव बेचबिखनमा पर्ने अवस्था भएमा यो शीर्षकमा पनि जाने खालको घटना हुन्छ । परिवारमा हुने विवादले नै अधिकांश बालबालिका यो क्षेत्रमा लागेको देखिन्छ । डिभोर्स भएका, अलग्गिएका, आमाबुवाबिच झै–झगडा भइरहने परिवारका बालबालिकाहरू यस्ता समस्यामा बढी परेका छन् । आमाबुवासँगै बस्ने बालबालिका यस्तो क्षेत्रमा कम देखिन्छन् ।
दीपक ढकाल : प्रमुख, बाल संरक्षण तथा विकास शाखा, महिला बालबालिका मन्त्रालय
बालबालिकाको अभिभावकत्व नलिएकाजस्ता केस मन्त्रालयसम्म आइपुग्दैनन् । केन्द्रीय बालकल्याण समितिले यस विषयमा काम गर्ने गर्छ । कुनै घटनाको जानकारी आउनेबित्तिकै मन्त्रालयमातहतका संयन्त्रहरू सक्रिय बन्छन् । कसैको संरक्षण नभएमा त्यस्ता बालबालिकालाई राज्यले अभिभावकत्व लिन्छ । कुनै पनि किसिमका शोषणमा परेका बालबालिकालाई राज्यले उद्धार गरिरहेकै छ । सडक बालबालिकाको पनि संरक्षण र पुनस्र्थापनामा मन्त्रालयले काम गरिरहेको छ ।