नेपालका विख्यात संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलालाई भारतको स्वराज आश्रम तथा पिल्ग्रिम्स पब्लिसिङले उत्तरप्रदेशको महाकुम्भ मेलास्थल प्रयागराजमा ‘कुम्भ विश्वशान्ति पुरस्कार’बाट सम्मान गर्ने भएको छ।
गर्गाचार्य संहिताशास्त्री बास्तोलालाई आइतबार कुम्भमेला प्रयागराजमा आयोजना हुने विशेष समारोहमा धर्मगुरु हरि चैतन्य श्री महाराजले सम्मान गर्न लागेका हुन्। भक्तपुर चाँगुनारायणका स्थायी बासिन्दा रहेका बास्तोला देवचुली नवलपुरस्थित पशुपति साङवेद विद्याश्रम गुरुकुलका संस्थापक तथा पशुपति क्षेत्र विकास कोषका पूर्वबोर्ड सदस्य हुन्।
स्वराज आश्रमका संस्थापक सनातनी रामानन्दद्वारा जारी विज्ञप्तिमा बास्तोलालाई सम्मानित गर्न लागिएको उल्लेख छ। संहिताशास्त्री बास्तोला महाकुम्भ मेलाको साइत निकाल्ने टोलीमा समेत थिए। उनको सम्मानमा कुम्भमेला आयोजक समितिले प्रयागराज संगमछेउको भिआइपी स्थान मानिने सेक्टर २४ मा नेपालको झन्डा फर्फराउने गरी कुटी राख्ने स्थान पाएका छन्। जहाँ दैनिक रूपमा कम्तीमा दुई सयजनालाई निःशुल्क खाने बस्ने व्यवस्था छ।
ब्राह्मण अन्तर्राष्ट्रिय संगठन ट्रस्टका संरक्षकसमेत रहेका संहिताशास्त्री बास्तोलाले प्रयागराजमा रहेर नेपाली तीर्थालुहरूलाई सहयोग गरिरहेका छन्। ‘मलाई सम्मानित संस्थाले गर्न लागेको सम्मानलाई नेपालीहरूप्रतिको सम्मान भएको ठानेको छु,’ बास्तोलाले प्रयागराजबाट टेलिफोनमा भने। उनका लागि कुम्भमेला समितिले बनाइदिएको आवास क्षेत्रमा विशेष स्नानको समयमा नेपाली मात्र नभएर हिमाञ्चल प्रदेश, पश्चिम बंगाल, उत्तराखण्डका तीर्थालुहरूले भोजन गरेको र उनीहरू त्यहीँ वास बसेको पनि उनले बताए।
‘नेपालको झन्डा फहराएर हामी बसेका छौँ। नेपालीहरूका लागि सेवा गरिरहेका छौँ,’ उनले भने, ‘१४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनेर हामीले सेवा सञ्चालन गरेका छौँ।’
संहिताशास्त्री बास्तोलालाई भेट्न उनको आवास क्षेत्रमा भारतका धर्मगुरु, नेता तथा साधुसन्तहरूको पनि भिड लागेको छ।