थाइल्यान्डले जित्यो त्रिकोणात्मक सिरिज

नेपाल सबै खेलमा पराजित

शनिबार, २६ माघ, २०८१
डिजिटल संस्करण

दुई वर्षपछि नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय महिला टी–२० आई क्रिकेट प्रतियोगिताको उपाधि थाइल्यान्डले जितेको छ । आयोजक नेपालसँगै नेदरल्यान्ड्स सम्मिलित टी–२० आई सिरिजमा थाइल्यान्डले सर्वाधिक १० अंक बटुलेर उपाधि जितेको हो । थाइल्यान्डले ६ खेलमा पाँच जित र एक हारको सामना गर्‍यो । 

दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले समान दुई जित र हारको सामना गरी आठ अंक जोड्यो । आयोजक नेपालले ६ खेल नै गुमायो । नेपालले एक अंक पनि बटुल्न सकेन । नेपाल क्रिकेट संघ (क्यान)ले सहभागी टोलीबिच एक–आपसमा तीन–तीन खेलको फम्र्याट बनाएको थियो । त्रिवि क्रिकेट मैदानमा नेपालले थाइल्यान्डमाथि फराकिलो जित निकाल्दा नेदरल्यान्ड्सको उपाधि जित्ने सम्भावना थियो । तर, सिरिजकै अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग सात विकेटको फराकिलोअन्तरले हारको सामना गर्‍यो । 

पहिलो ब्याटिङ गरेको नेपालले पुनः एकपटक कमजोर ब्याटिङ प्रदर्शन गर्‍यो । नेपालले २० ओभरमा सात विकेट गुमाएर ८१ रन मात्र जोड्यो । प्रत्युत्तरमा थाइल्यान्डले १७ ओभरमा तीन विकेटको क्षतिमा ८२ रन जोड्यो । थाइल्यान्डको जितमा नानापाट कान्चारोकैले ३२ बलमा २३ रनको योगदान दिएका थिए । उनले आफ्नो इनिङ्समा एक चौका प्रहार गरिन् । यसैगरी, पी मायाले ३४ बलको सामना गरी २७ रन जोडिन् । उनले दुई चौका प्रहार गरेकी थिइन् । 

बलिङमा नेपालकी कप्तान इन्दु बर्माले नौ रन खर्चेर दुई विकेट र पूजा महतोले एक विकेट हात पारे । यसअघि ब्याटिङ गरेको नेपालको इनिङ्समा पाँच खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर सम्झना खड्काले २९ बलमा एक चौकाको सहयोगमा १७ रन बनाइन् । मध्य क्रमका विन्दु रावलले सात रन, पूजाले ६ रन तथा पूर्वकप्तान रुबिना क्षत्रीले एक रन जोडे । कप्तान इन्दुले २१ बलमा १० रन तथा कविता जोशीले १४ रन बनाए । डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा ११ रनको योगदान दिइन् ।

सिरिजमा नेपाल सबै खेलमा पराजित
दुई वर्षपछि घरेलु भूमिमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न अवसर पाएको नेपाली महिला टोलीले सुखद र ऐतिहासिक बनाउन सकेन । थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० आईमा नेपालले कुल ६ खेल खेल्दा एकमा पनि जित निकाल्न सकेन । घरेलु टोली नेपालले सबै ६ खेलमा हारको सामना गर्‍यो । 

नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटको स्तर उकास्न र खेलाडीलाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजर प्रदान गर्न आयोजना गरिएको टी–२० आईमा नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग समान तीन खेलमा हारको सामना गरेको थियो । सिरिजअन्तर्गत चौथो खेलमा मात्र नेपालले विपक्षीलाई कडा चुनौती दिन सफल भयो । थाइल्यान्डविरुद्धको खेलमा कम अन्तरले पराजित भयो । थाइल्यान्डले नेपाललाई पाँच रनले हरायो । 

नेदरल्यान्ड्सले पाँचौँ खेलमा नेपालमाथि १० विकेटको सानदार जित निकाल्यो । नेदरल्यान्ड्सले पहिलोपटक नेपालमाथि दशै विकेटको जित निकालेको हो । टी–२० आई सिरिजमा नेपालबाट पाँच खेलाडीले डेब्युको अवसर पाए । सिरिजमा नेपालको उपलब्धि नै यू–१९ टोलीकी पूजा महतोको रह्यो । उनले नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय प्रहार गरेकी थिइन् । सीता रानमगरले नेदरल्यान्ड्सविरुद्ध पाँच विकेटको प्रदर्शन गरिन् । 

सिरिजमा नेपाली खेलाडी र प्रशिक्षकबिचको असमझदारी देखियो । कप्तान इन्दू बर्माले विदेशी प्रशिक्षकको खाँचो रहेको प्रतिक्रिया दिइन् । यसविपरीत प्रशिक्षक मनोज कटवालले महिला खेलाडी अल्छी भएको प्रतिउत्तर दिएका थिए । कटवालले खेलाडीको फिटनेसमाथि प्रश्न उठाएका थिए । 

एकै सिरिजमा पाँच नेपाली खेलाडीले गरे डेब्यु 
त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली नेपालले पाँच खेलाडीलाई अन्तर्राष्ट्रिय खेलमा डेब्यु गराएको छ । नेपालको महिला क्रिकेट इतिहासमा एकै सिरिजमा पाँच खेलाडीले अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको यो नै पहिलोपटक थियो । उपाधि दौडबाट टाढा भइसकेको नेपालले शुक्रबार थाइल्यान्डविरुद्धको अन्तिम खेलमा राजमती ऐरीलाई डेब्यु गराएको थियो । योसँगै एकै सिरिजमा पाँचजना खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

२२ वर्षीया राजमती एपिएफ क्लबमा आबद्ध छिन् । उनले थाइल्यान्डविरुद्धको डेब्यु खेलमा १७ बलमा ११ रनको योगदान दिइन् । गत मंगलबार यू–१९ टोलीकी स्पिनर रचना चौधरीले थाइल्यान्डविरुद्ध डेब्यु गरेकी थिइन् । सुदूरपश्चिमकी खेलाडी रेवती धामी, यू–१९ टोलीकी विकेटकिपर अलिसाकुमारी यादव र बागमती प्रदेशकी तीव्र गतिकी बलर मनीषा उपाध्यायले पनि त्रिकोणात्मक सिरिजमा डेब्यु गरे । 

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालको महिला राष्ट्रिय टोलीमा ३७ खेलाडीले डेब्यु गरेका छन् । राष्ट्रिय टोलीमा अहिलेसम्म ओपनर सीता रानामगर लगातार छिन् । उनी सन् २००७ देखि टोलीकै मुख्य ओपनरका रूपमा छिन् । 

पूजाले जितिन् स्कुटर
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर पूजा महतो घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजमा उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छिन् । उनले यामाहा स्कुटर प्राप्त गरेकी छिन् । पूजाले समग्रमा ६ खेलमा १३४ रन बनाउनुका साथै तीन विकेट लिइन् । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा अविजित रहँदै अर्धशतक प्रहार गरेकी थिइन् । उनी नेपालका लागि सबैभन्दा बढी रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा रहिन् ।

महिला टोलीमा पनि सुधार हुनेछ : पारस खड्का, सचिव, क्यान
पहिला–पहिला महिला क्रिकेटको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा खासै दर्शक आउँदैनथे । त्रिकोणात्मक सिरिजमा दर्शकको उपस्थिति उल्लेखनीय रह्यो । यो सिरिज हामीले जित्नुभन्दा पनि महिला खेलाडीको कमजोरी तथा बलियो पक्ष परीक्षण गर्नु थियो । अब यस्तो किसिमको क्रिकेट प्रतियोगिता आयोजना हुनेछ । यो केवल सुरुवात मात्रै हो । यस्तो सिरिज सन् २०२५ मा होम एन्ड अवे आधारको फम्र्याटमा थुप्रै हुनेछ । हाम्रा खेलाडी बल्ल दर्शकका दबाबअगाडि खेल्न सक्ने भएछन् । नतिजा बिस्तारै आउनेछ । यसपटक खेलाडीको प्रदर्शन क्यानले प्रत्यक्ष रूपमा देख्न पायो । अब महिला टोलीमा सुधार हुनेछ ।

नेपालको ब्याटिङ र बलिङमा धेरै सुधार भयो : मनोज कटवाल, प्रशिक्षक, नेपाल
सिरिजमा हामी लगातार ६ खेलमा पराजित भयौँ । तर, प्रत्येक खेलमा हामीले आफूभन्दा माथिको टोलीविरुद्ध राम्रो खेल्याँै । नेपालले पहिलोपटक थाइल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध कडा चुनौती दिन सफल भएको जस्तो लाग्छ । यस सिरिजमा एउटै मात्र कमजोरी पक्ष भनेको फिल्डिङ मात्र हो । यसबाहेक अरू पक्ष राम्रो भयो । ब्याटिङमा थप सुधार गर्नुपर्छ । अनुभवी टोलीविरुद्ध खेल्दा हाम्रा खेलाडीले सिक्ने अवसर पाए । यसअघि नेपालले हङकङ, भुटान र मलेसियाविरुद्ध प्रतिस्पर्धा गथ्र्यो । त्यसवेला नेपालको कमी–कमजोरी खासै थाहा पाइँदैनथ्यो । यसपटक बलिया प्रतिद्वन्द्वीविरुद्ध खेल्दा कहाँ कमजोर भएको रहेछ प्रस्ट भयो । विशेषतः नेपाली खेलाडी फिल्डिङ पक्षमा कहाँ छन् भन्ने थाहा भयो । अहिले विश्व क्रिकेटमा नेदरल्यान्ड्स, आयरल्यान्ड र थाइल्यान्डजस्तो टोलीविरुद्ध खेल्दा कुन पक्षमा सुधार गर्नुपर्छ भन्ने थाहा भएको छ ।

See More On

सुझावित समाचार