साबिक विजेता न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड शनिबार २५औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । एनआरटी दुईपटकको विजेता हो । एनआरटीले १०औँ र २४औँ संस्करण जितेको थियो । एनआरटीको नजर यसपटक ट्रफीमाथि ह्याट्रिक गर्ने हो । चर्च ब्वाइज भने पहिलोपटकको सहभागीमै बुढासुब्बा गोल्डकपको च्याम्पियन हुने योजनामा छ ।
यो सिजनमा एनआरटी र चर्च ब्वाइजले तीन गोल्डकपमा भिडेका छन् । जसमध्ये दुई खेल फाइनल रहे । एनआरटीले चर्च ब्वाइजलाई ३–० ले हराउँदै इलाम गोल्डकपको उपाधि जितेको थियो । झापा कपको उपाधि भिडन्तमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ ले हराएको थियो । पोखरामा चलिरहेको २४औँ आहारारा गोल्डकपको प्रिक्वार्टरफाइनलमा एनआरटी चर्च ब्वाइजसँग सडनडेथमा पराजित भएको थियो ।
एनआरटीले पहिलो खेलमा केएफटिसी झापालाई ३–१ र भारतको युकेएफसीलाई पनि ३–१ गोलअन्तरले नै पराजित गरेको थियो । चर्च ब्वाइजले चारपटकको विजेता नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनल स्थान बनाएको थियो । फाइनल प्रवेश खेलमा भुटानको आरटिसीलाई ७–० को फराकिलो अन्तरले चर्च ब्वाइजले हराएको थियो । यो सिजनमा चर्च ब्वाइजले पाँचथरको फाल्गुनन्द गोल्डकपको उपाधिसमेत उचालिसकेको छ ।
एनआरटीका टिम म्यानेजर श्याम मालीले चर्च ब्वाइजलाई हल्का रूपमा नलिने बताए । धरान रंगशालामा शुक्रबार भएको प्रि–म्याच कन्फरेन्समा उनले भने, ‘चर्च ब्वाइज हाम्रो चिरपरिचित प्रतिद्वन्द्वी हो, यो टिम राम्रो छ । फाइनल खेल्न हाम्रो टिम पनि पूर्ण तयारीमा छ ।’ उनले बुढासुब्बा गोल्डकपको उपाधि तेस्रोपटक जित्न तयार भएको जनाए । ‘हामीले दुईपटक बुढासुब्बा गोल्डकपको उपाधि उचालिसकेका छौँ, फेरि तेस्रोपटक उचाल्न पूर्ण तयारीमा छाैँ,’ मालीले भने ।
एनआरटीलाई रोक्ने योजनामा चर्च ब्वाइज
चर्च ब्वाइज राम्रो टिम भएको एनआरटीका टिम कप्तान सरोज घिसिङले बताए । ‘समग्रमा हाम्रो टिम पनि राम्रो छ, एक–अर्कालाई सपोर्ट गरेर खेल्छौँ,’ उनले भने । चर्च ब्वाइज पहिलोपटक उपाधि उचालेर इतिहास रच्ने सोचका साथ मैदानमा उत्रिँदै छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले एनआरटीलाई प्रमुख प्रतिस्पर्धीका रूपमा लिएको बताए ।
‘यसअघि हामीलाई एनआरटीले जितेको थियो, खेलमा केही भन्न सकिँदैन । हामी जित्ने मनस्थितिका साथ खेल्छौँ,’ उनले भने, ‘धरानमा हामी उपाधि लिएर फर्कन्छौँ ।’ उनले विदेशी खेलाडी घाइते भएकाले केही फरक पर्ने जनाए । चर्च ब्वाइजका कप्तान अनन्त तामाङले एनआरटी राम्रो टिम भएकाले अरू प्रतिद्वन्द्वीहरूको तुलनामा धेरै मिहिनेत गरेर खेल्ने बताए । ‘एनआरटी राम्रो टिम हो । पर्फमेन्स राम्रो छ । मिडफिल्डर अझ राम्रो छ,’ उनले भने, ‘अरू क्लबको तुलनामा एनआरटीसँग खेल्न हामीले धेरै तयारी गरेर आउनुपर्छजस्तो लाग्छ ।’ विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् ।