माझी समुदायको प्रमुख चाड लदीमा सार्वजनिक बिदा दिन माग

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ज्ञापनपत्र

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

माझी समुदायले आफ्नो प्रमुख चाड लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल माझी उत्थान संघले लदी (कोशी) पर्वको दिन सार्वजनिक बिदा दिनुपर्ने माग गरेको हो ।

प्रत्येक वर्षको फागुन महिनाको तेस्रो मंगलबार पर्ने लदि (कोशी) पूजा यस वर्ष २०८१ साल फागुन २० गते परेको र उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने मुख्यमन्त्री लामालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

छुट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदी (कोशी) पूजाको अवसरमा दिइने बिदाले सम्पूर्ण आदिवासीलगायत प्रदेशमा बसोबास गर्ने माझी समुदायप्रति सम्मान व्यक्त हुने संघका महासचिव बबिन्द्रलाल माझीले बताए । 

महासचिव माझीका अनुसार आफ्नो छुट्टै भाषा, धर्म र संस्कार–संस्कृति भएको माझी समुदायको महत्त्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिन माग गरिएको हो । छुट्टै पहिचानसहित नेपालको मध्यपहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा बसोबास रहेको माझी समुदाय विशिष्ट जाति रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

‘परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुंगा चलाउने भए तापनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा अंगालेका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास बढीजसो नदी किनारमा रहेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा एक लाख ११ हजार ३५२ माझीहरूको जनसंख्या रहेको छ । तराईमा रहने माझीहरूले कुश्वार लेख्ने हुनाले यो संख्या अरू धेरै हुन सक्ने उनीहरूको दाबी छ । माझीहरूको कुल जनसंख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४१ हजार ६७१ अर्थात् (३७.४२ प्रतिशत) बसोबास गर्ने भएकाले प्रमुख चाड लदी (कोशी) पूजाको दिन सार्वजनिक बिदा दिन माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले सबै भाषा, धर्म र सांस्कृतिक चाडपर्वको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताए । भाषा ऐन कार्यान्वयनपश्चात् प्रदेशमा रहेका आदिवासी तथा सीमान्तकृत जातिको विषयमा अध्ययन–अनुसन्धान कार्यमा काम अघि बढाउन सहज भएको उनको भनाइ थियो । 

मुख्यमन्त्री लामाले सरकार सांस्कृतिक सम्पदासँगै भाषा–साहित्यलाई पर्यटनका माध्यमबाट प्रवर्द्धन गरी आय-आर्जनमा जोड्न प्रयत्नरत रहेको उल्लेख गर्दै प्रदेश सरकारले लदी पर्वको बिदाको सन्दर्भमा आवश्यक समन्वय गरेर निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।

सुझावित समाचार