सूचना प्रविधिको एउटै ठेक्कामा तीन करोड आठ लाख घुस

अमेरिकाको बैंक खातामा घुस लिने सुनील पौडेल र ठेक्कामा जोडिएका भारतीय नागरिक दीपकविरुद्ध विदेशी अदालतमा मुद्दा दायर

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

सूचना प्रविधिको एउटै ठेक्कामा तीन करोड आठ लाख रुपैयाँ घुस लेनदेन भएको भेटिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलले ठेक्का लगाउँदा घुसबापत तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलसहित ठेक्कामा जोडिएर घुस दिने व्यक्ति भारतीय नागरिक दीपक आनन्दलाई समेत प्रतिवादी कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक पौडेल र नेपालका लागि एफ ५ कम्पनीका प्रतिनिधि दीपकको आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक सुरक्षण उपकरणको आपूर्ति, ढुवानी र जडान तथा नेटवर्क उपकरणको ठेक्कामा घुस लेनदेन भएको हो । यो ठेक्का आव ०७४/७५ मा लगाइएको थियो । सुनील हाल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट ठहर भएर जेलमा छन् ।
 
आफैँले मूल्य तोकी तीन कोटेसन लिएर लागत अनुमान तयार 
सुनील पौडेल आफैँले मूल्य तोकी तीनवटा कोटेसन लिएर लागत अनुमान तयार गरेको देखिएको छ । खरिद प्रक्रिया अघि बनाउने क्रममा उनले दीपकसँग ‘ह्वाट्सएप’मा लामो कुराकानी गरेको प्रमाण अख्तियारले आरोपपत्रमा पेस गरेको छ । १३ चैत ०७४ अर्थात् २७ मार्च २०१८ मा ह्वाट्सएपमा भएको कुराकानीमा सुनीलले लागत अनुमानको आधारका रूपमा तीनवटा कम्पनीको कोटेसन दीपकसँग माग्छन् । दीपकले सहमति जनाउँदै ‘हुन्छ’ र ‘गर्छु’ को जवाफ दिएका छन् । त्यसको भोलिपल्ट दीपकले कोटेसनमा काम गर्दै गरेको र ठिक छ कि सुनिश्चित गर्नुहोला भनी नौ वस्तुको विवरण तालिकासमेत सुनील पौडेललाई सन्देश पठाएका थिए ।

नौ वस्तु एफ ५, इन्स्टासेफ र सिस्को कम्पनीको हुने गरी ‘बिल अफ मेटेरियल’ दीपकले सुनीललाई पठाउँछन् । ती वस्तुको कुल मूल्य १२ लाख ५० हजार अमेरिकी डलर छ । पौडेलले ठेक्काको लागत १२ लाख अमेरिकी डलर बनाउन डिएनएस फायरवालको मूल्य एक लाख ७५ हजार डलरभन्दा माथि बढाउने र स्विच तथा राउटरको लागत घटाउनुपर्छ भन्ने व्यहोराको सन्देश पठाएको देखिएको छ । सुनीलको आग्रहबमोजिम अब दीपकले तिनै वस्तुको मूल्य हेरफेर गरी वस्तु र मूल्य तालिकाको विवरण पठाउँछन् । सुरु चरणको खरिद प्रक्रियाअन्तर्गत पूर्वनिर्धारित दररेटमा लागत अनुमान तयार गर्ने गरी पौडेलले दीपकबाट तीनवटा कम्पनी इन्स्टासेफ टेक्नोलोजिज प्रालि बैंग्लोर, एक्स्क्लुसिभ नेटवर्कस् एसिया प्रालि सिंगापुर र टेकडाटा सिंगापुरको कोटेसन लिएका थिए । १५ चैत ०७४ अर्थात् २९ मार्च २०१८ मा दीपकले तीनवटै कम्पनीको कोटेसन सुनीललाई पठाए । यी सबै झुटा कोटेसन थिए ।

यसमा एक्स्क्लुसिभ नेटवर्कस्ले पेस गरेको देखाइएको कोटेसन सुनील र दीपकबिचको सन्देशमा आदान–प्रदान भएको १२ लाख डलर कुल लागत भएको तालिकासँग हुबहु मिलेको देखिन्छ । तर, कोटेसनका लागि एक्स्क्लुसिभ नेटवर्कस् एसिया प्रालि सिंगापुरले हालेको पत्रमा एक्स्क्लुसिभ नेटवर्कस् एसिया प्रालि इन्डियाको छाप थियो । यसले उक्त कोटेसन नै आधिकारिक नरहेको ठहर अख्तियारको छ । यसपछि इन्स्टासेफले पनि कोटेसन पठायो । सुनीलले उक्त कोटेसनको प्रस्तावलाई चार वस्तुको दर सच्याएर यसैअनुसार कोटेसन तयार गर्न पठाएको देखिन्छ । यसैअनुसार सच्याएर दीपकले १२ लाख ४४ हजार २५० डलर कुल लागत भएको कोटेसन पठाउँछन् । उही कोटेसनलाई लागत अनुमान तयार गर्ने आधारका रूपमा सुनीलले लिए । अन्तिममा टेक डाटाले १२ लाख ६० हजार डलर कुल लागतसहितको कोटेसन प्रस्ताव पठाएको देखिन्छ । त्यसैका आधारमा पौडेलले मातहतका कर्मचारीबाट प्राविधिक स्पेसिफिकेसन तयार गराएको देखिएको छ । यसरी तयार भएको लागत अनुमान कार्यकारी निर्देशक पौडेलले नै स्वीकृत गरेका थिए । लागत अनुमान स्वीकृत गरेपछि बोलपत्र आह्वान गरियो ।

लागत अनुमानमै घुस ‘फिक्स’ 
लागत अनुमान तयार गर्ने क्रममा त्यसैभित्र घुस रकमसमेत समावेश गर्नेबारे सुनील र दीपकबिच कुराकानी भएको छ । २२ चैतमा आपूर्ति गरिने सामग्रीका तीन कम्पनीले पाउने, बोलपत्रमा नेपालबाट भाग लिने थाक्रल वान नेपाल प्रालिनामक कम्पनीले पाउने र सुनीलले घुसबापत पाउने रकम खुलाएर तालिका पठाउँछन् । एफ ५ र सिस्को कम्पनीको सामानको मूल्य जनही चार लाख, इन्स्टासेफको २५ हजार, नेपालका तर्फबाट बोलपत्रमा भाग लिने थाक्रलले एक लाख र दुई लाख ७५ डलर सुनीललाई दिने गरी रकमको बाँडफाँट तालिकामा हुन्छ । सुनीललाई दिने भनिएको रकम कन्सल्टिङ फीको शीर्षकमा राखिएको छ । यसैअनुसारको प्रस्ताव थाक्रललाई पठाउने संवाद दीपक र सुनिलबिच भएको देखिन्छ । तर, आफूलाई दीपकले दिने घुस रकममा सुनीलको चित्त बुझ्दैन । दुईबिच घुस रकममा बार्गेनिङ चल्छ । तीन लाख डलर प्रस्ताव गर्दा सुनील मान्दैनन् । दीपकले बढाएर प्रस्ताव गरेको साढे तीन वा चार लाखमध्ये अन्ततः सुनीलले चार लाख चाहिने जवाफ पठाउँछन् । यसपछि दीपकले अर्को तालिका पठाउँछन्, त्यसमा सुनीललाई दिने घुस तीन लाख ७५ हजार उल्लेख गर्छन् र मागबमोजिम बाँकी २५ हजार डलर अर्को ठेक्काबाट पूर्ति गर्ने बताउँछन् । यसैमा सहमति जुट्छ ।

घुसमा सहमति जुटेपछि ३० चैतमा सुनीलले खरिद कार्यका लागि प्राविधिक स्पेसिफिकेसन र लागत अनुमान दीपकले दिएको विवरणबमोजिम नै हुने गरी स्वीकृत गर्छन् । त्यसको दुई दिनपछि सहमतिबमोजिम नै तीन कम्पनीको सामग्रीसँग मेल खाने सामग्री खरिद गर्ने गरी बोलपत्रको सूचना प्रकाशित हुन्छ । ठेक्काअन्तर्गत वस्तु आपूर्ति गर्दा तथा बिमा, भन्सारलगायतको दायित्वका कारण घुस घटाउन बार्गेनिङ गर्छन् र रकम तीन लाख १० हजार डलरमा झार्छन् ।

यसबिचमा दीपकले नेपाली बोलपत्रदाता थाक्रललाई भेट्छन् । यसपछि दीपक र सुनीलबिच अझै बार्गेनिङ चल्छ । सुनीललाई दिने घुसको प्रबन्धका लागि सामानको मूल्यवृद्धि गरिन्छ । यसमा थाक्रलको मार्जिनबारे पनि कुराकानी हुन्छ । यी सबैको व्यवस्थापनका लागि ठेक्काको वास्तविक लागत ६ लाख ७६ हजार डलरलाई बढाएर १० लाख ७१ हजार डलर पु¥याइन्छ । यसैभित्र सुनीललाई तीन लाख १० हजार र थाक्रलको कमिसन ८५ हजार डलर सुनिश्चित हुन्छ । घुस र कमिसनको हिसाब गरेर त्यसको प्रबन्ध गर्न सामानहरूमा अस्वाभाविक मूल्य बढाइएको देखिएको छ ।

ठेक्कासम्बन्धी कागजात तयारीका लागि ३० वैशाख ०७५ मा दीपक नेपाल आउँछन् र थाक्रलका प्रमुख कार्यकारी अधिकृत तथा आपूर्तिकर्ता एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिका अध्यक्ष कृष्ण गिरीसँग भेट्छन् । यसको भोलिपल्ट दीपकले भनेबमोजिमको रकम कबोल गरी एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिले बोलपत्र पेस गर्छ । करिब लागत अनुमानबराबरकै अंक कबोल गरी एस्ट्रललाई मात्र बोलपत्रदाताका रूपमा बोलपत्र पेस गराइन्छ । यसपछि मूल्यांकन समितिको अध्यक्षमा सुनील आफैँ बस्छन् । उनले एस्ट्रलको बोलपत्र स्वीकृतिका लागि सिफारिस गरी मूल्यांकन प्रतिवेदन पेस गरेका थिए, ८ जेठमा । यसपछि १७ जेठमा सुनील आफैँले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तर्फबाट दस्तखत गरी एस्ट्रलसँग ठेक्का सम्झौता गर्छन् ।

ठेक्का सम्झौतापछि सुनीलको खातामा तीन करोड आठ लाख घुस
ठेक्का सम्झौतापछि घुसबारे सुनील र दीपकबिच फेरि कुराकानी हुन्छ । सुनीललाई घुस दिने सम्बन्धमा नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य बढेकाले दीपकले तीन लाख १० हजारबाट तीन लाख हुँदै दुई लाख ८० हजार डलरमा झार्छन् । घुस रकम सुनीललाई पठाउने सम्बन्धमा पनि दुईबिच छलफल चल्छ । यसबिचमा १ असारमा आपूर्तिकर्ता एस्ट्रलले पूर्वनिर्धारित तीनवटा कम्पनीका सामग्री आपूर्तिका लागि सिंगापुरमा १० लाख ५३ हजार ६०४ डलर प्रतीतपत्रमार्फत पठाउँछ । त्यसैअनुसार २४ असारमा सामग्री नेपालमा आपूर्ति भएको थियो । सामग्री प्राप्त भएपछि सुनीलले नै १२ करोड ८२ लाख ४० हजार रुपैयाँ (भ्याटबाहेक) भुक्तानी दिएका थिए ।

अन्ततः २५ साउन ०७५ मा ठेक्काबापत दीपकबाट सुनीलले दुई लाख ८० हजार अमेरिकी डलर अर्थात् घुस लिँदाको दिनको विनिमय दरअनुसार तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस प्राप्त गर्छन् । अमेरिकाको बैंक खाताबाट सुनीलको उक्त रकम दीपकले हालिदिन्छन् । सुनील र दीपकबिच लेनदेन भएको सोही घुस रकमलाई बिगो कायम गरेको छ । दुवैविरुद्ध जनही तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ बिगो कायम भएको छ ।

सुझावित समाचार