अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टी उनको देशको नियन्त्रणमा राख्ने र त्यहाँका लाखौं प्यालेष्टिनीलाई छिमेकी देशमा पुनर्वास गर्ने प्रस्ताव अघि सारेका छन् । अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटघाटपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले उक्त घोषणा गरेका हुन् । ट्रम्पको छेउमा उभिएर नेतन्याहुले ट्रम्पलाई इजरायलको ‘सबैभन्दा ठुलो मित्र’को रूपमा प्रशंसा गर्दै उनको ‘संकुचित दायराभन्दा बाहिर गएर सोच्ने इच्छा’को प्रशंसासमेत गरे ।
गाजामा बीस लाखभन्दा बढी प्यालेस्टिनी बसोवास गरिरहेका छन् । त्यति ठुलो जनसंख्याको पुनर्वास कसरी गर्ने र गाजामाथिको अमेरिकी अतिक्रमण कसरी हुने भन्नेबारे कुनै विवरण नदिई प्रस्ताव ल्याइएको छ । ट्रम्पले गाजामा विस्फोट नभएका धेरै बम रहेकाले बस्न जोखिमपूर्ण भएको दाबी गरे । उनले भग्नावशेष हटाएर र आर्थिक पुनर्विकास गरेर युद्धबाट क्षतिग्रस्त क्षेत्रलाई ‘अविश्वसनीय’ बनाउने बताएका छन् । गाजा प्यालेस्टिनीहरूका लागि पुनर्निर्माण नगरिने संकेत गर्दै ट्रम्पले भने, ‘त्यस भूमि अब पुनर्निर्माण गरिनु हुँदैन, आखिर त्यो त्यही क्षेत्र हो, जहाँ मानिस मरेका छन् र त्यहाँ दयनीय जीवन बिताएका छन्,’ उनले भने ।
अहिले गाजाको अधिकांश भाग इजरायलको निरन्तरको बमबारी तथा स्थल आक्रमणका कारण तहसनहस भएको छ । गाजायुद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो । उक्त आक्रमणमा इजरायली आधिकारिक आँकडाका आधारमा एएफपीको गणनाअनुसार अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय १० जनाको मृत्यु भएको थियो । इजरायलको जवाफी कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अधिकांश नागरिकसहित कम्तीमा ४७ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले यी आँकडालाई विश्वसनीय मान्छ ।
विश्वव्यापी विरोध
अमेरिकाले गाजापट्टी नियन्त्रणमा लिने विचारको छिमेकी इजिप्ट र जोर्डन सरकारले विरोध जनाएका छन् । तर, ट्रम्पले मध्यपूर्वमा ‘सर्वोच्च नेतृत्व’ले यस योजनामा समर्थन जनाएकाले ती दुई मुलुकलाई गाजावासीलाई लिन दबाब बनाइने बताए । सन् २००७ देखि गाजामाथि एकल नियन्त्रण कायम गरेको हमासले भने प्रस्तावलाई अस्वीकार गर्दै यसलाई ‘नश्लीय’ विचारको संज्ञा दिएको छ । ‘अमेरिकी नश्लीय दृष्टिकोण हाम्रा मानिसलाई विस्थापित गर्ने र हाम्रो मुद्दालाई समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ,’ हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउले एक वक्तव्यमा भने ।
पश्चिम किनारामा स्थित प्यालेस्टिनी अथोरिटीका राष्ट्रपति महमुद अब्बासले प्रस्तावलाई अस्वीकार गरेका छन् । गाजाका प्यालेस्टिनीले पनि ट्रम्पको पुनर्वास विचारको विरोध गरेका छन् । प्यालेस्टिनीलाई गाजाबाट निकाल्ने कुनै पनि प्रयासले सन् १९४८ मा इजरायली सेनाले गरेको प्यालेस्टिनीको सामूहिक विस्थापनको घटना अर्थात् ‘नक्बा’को अँध्यारो स्मृतिलाई जगाउनेछ ।
अहिले भने युद्धविराम सम्झौताअन्तर्गत ४३ दिनका लागि युद्ध रोकिएको छ । ट्रम्पको प्रस्ताव सार्वजनिक भएपछि साउदी अरेबियाले प्यालेस्टिनी राज्य स्थापना नभएसम्म इजरायलसँग औपचारिक सम्बन्ध नराख्ने बताएको छ । गाजा प्रस्तावलाई लिएर ट्रम्पले कडा विरोधको सामना गर्नुपर्ने देखिन्छ । इजिप्ट, जोर्डन र युद्धविराम मध्यस्थकर्ता कतार सबैले गाजाबाट प्यालेस्टिनीलाई सार्ने ट्रम्पको सुझावलाई अस्वीकार गरेका छन् । टर्कीका विदेशमन्त्री हकान फिदानले प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने कुरा ‘न त हामीले, न त क्षेत्रले स्वीकार गर्न सक्ने’ कुरा भएको बताए । चीनले पनि यस प्रस्तावको विरोध गरेको छ । त्यहाँका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीनले सधैँ प्यालेस्टिनीमाथि प्यालेस्टिनीहरूको शासन हुनुपर्ने वकालत गर्दै आएको छ । गाजाको युद्धपछिको शासनको आधारभूत सिद्धान्त पनि यही हुनुपर्ने हाम्रो मान्यता छ । हामी गाजाका बासिन्दाको जबर्जस्ती स्थानान्तरणको विरोध गर्छौं ।’