खानेपानीको मुहान दर्ताको सिफारिस नदिएपछि वडा कार्यालयमा स्थानीयले गरे तालाबन्दी

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

सल्यानको बागचौर नगरपालिका–९ का बासिन्दाले खानेपानीको मुहान दर्तासम्बन्धी सिफारिस-पत्र नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडा नम्बर ९ का ९४ घरपरिवारले उपभोग गर्दै आएको पानीको मुहान दर्ता प्रक्रिया अघि बढाए पनि उपभोक्ता समितिलाई सिफारिस-पत्र नदिएको स्थानीयको आरोप छ । 

९४ घरपरिवारको तर्फबाट जारी संयुक्त विज्ञप्तिमा वडाध्यक्षले ३५ दिने सूचनापश्चात् दिनुपर्ने सिफारिस दिन नमानी कार्यालयमै उपस्थित नभएको उल्लेख छ। साथै, उनले अन्य सदस्यलाई समेत कार्यबाहकको जिम्मेवारी नदिई मनोमानी तरिकाले कार्यक्षेत्रबाहिर गएको आरोप लगाएका छन्। पटक-पटक फोन, इमेलमार्फत सिफारिसका लागि अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। 

वडाध्यक्ष यज्ञबहादुर डाँगीले आफूमाथि खानेपानीको मुहान दर्ताको सिफारिस नदिएको भन्ने आरोप गलत भएको बताए। उनका अनुसार माग गरिएको स्थानमा वास्तविक मुहान नभएको र खोला नै मुहानको रूपमा दर्ता गर्नुपर्ने भएकाले सिफारिस दिन असहज भएको हाे। 

डाँगीले भने, ‘नगारे खोला प्राकृतिक खोला हो, मुहान होइन। अघिल्लो सरकारले लुगाधुने खोलालाई वडा नम्बर ८ को लागि मुहान दर्ता गर्न सिफारिस गरेको थियो। तर, अहिले चौखेढुंगामा मुहान दर्ताको माग भइरहेको छ। सिफारिस गर्दा सबै विवरण खुलाएर दिनुपर्ने हुन्छ, तर उहाँहरूले त्यसलाई स्विकार्न चाहनुभएको छैन।’ 

स्थानीयको कदमलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाएका छन्। सबै राजनीतिक दलका प्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गरी वडाध्यक्षले अटेरी गरेर कार्यालयमा नगएको जनाएका छन्। 

सुझावित समाचार