बढ्न थाल्यो कर्जाको माग

आयाततर्फको कर्जा प्रवाह ५६.६ प्रतिशतले बढ्यो, आयातमा भएको वृद्धिले मुद्रास्फीतिमा पनि चाप

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

लामो समयदेखि कर्जा विस्तार गर्न नसकेर अधिक तरलता (लगानीयोग्य पुँजी थुप्रिने) व्यहोरिरहेका बैंक तथा वित्तीय संस्थालाई वस्तु आयातमा भएको वृद्धिले लाभ पु¥याएको छ । वस्तु आयात गर्दा व्यवसायीले लिने कर्जा प्रवाहमा भएको वृद्धिसँगै समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह विस्तार बढेको हो ।

चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा दुई खर्ब ६५ अर्ब ५६ करोड कर्जा विस्तार भएको छ । समीक्षा अवधिमा ५.२ प्रतिशतले कर्जा विस्तार भएको हो । केन्द्रीय बैंकका अनुसार यो अवधिमा ७.१ प्रतिशतले बढेर आठ खर्ब २२ अर्बको वस्तु आयात भएको छ । 

सेवा क्षेत्रले लिने आयात कर्जा १३५ प्रतिशतले बढ्यो 
आयात गर्दा निजी क्षेत्रले लिने ट्रस्ट रिसिप्ट कर्जामा ५६.६ प्रतिशतले वृद्धि भएको छ । यस्तो कर्जा लिँदा आयात गरिने वस्तु नै धितो राख्न पाइन्छ । आयात कर्जा बढी लिनेमा सेवा क्षेत्र र औद्योगिक क्षेत्रका कम्पनीहरू छन् । खासगरी भटमास, सूर्यमुखीजस्ता खानेतेल उद्योगहरूले कच्चा तेलको आयात बढाउँदा औद्योगिक क्षेत्रबाट लिने आयात कर्जामा वृद्धि भएको हो । अहिले चामल–धान, यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारीसाधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खानेतेललगायतका वस्तुको आयात बढेको छ ।

त्यस्तै, औद्योगिक क्षेत्रमा गएको आयात कर्जा ३६ अर्ब २७ करोडले बढेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८४ प्रतिशतको वृद्धि हो । सेवा क्षेत्रका संस्थाहरूले ६ महिनामा तीन अर्ब २५ करोडको आयात कर्जा लिएका छन् । यो १३५ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो कर्जा ४६.२ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार ६ महिनामा निक्षेप संकलनमा भएको वृद्धिदरको तुलनामा कर्जा प्रवाह वृद्धिदर बढी छ । ६ महिनामा निक्षेप संकलन ३.७ प्रतिशतले बढ्दा कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ । पछिल्लो समय आयातमा भएको वृद्धि नै कर्जा प्रवाह वृद्धि हुनुको प्रमुख कारण रहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलको भनाइ छ । उनले भने, ‘निक्षेप संकलनभन्दा कर्जा विस्तारको रफ्तार बढ्दै गएकाले समग्र मागमा सुधारको संकेत देखिएको बुझ्न सकिन्छ ।’

खराब कर्जा वृद्धि र पुँजीकोषको दबाबमा बैंकहरूलाई रेमिट्यान्सको आडभरोसा
बढ्दो निष्क्रिय कर्जा र पुँजीकोषको दबाबमा पनि कर्जाको माग धान्न बैंक तथा वित्तीय संस्थालाई रेमिट्यान्सले भरथेग गरेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार ६ महिनामा रेमिट्यान्स आप्रवाह सात खर्ब ६३ अर्ब आठ करोड पुगेको छ । यो ४.१ प्रतिशतको वृद्धि हो । मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपात ४.४२ प्रतिशत छ । चुलिँदो निष्क्रिय कर्जा र पुँजीकोषको दबाबमा पनि रेमिट्यान्समार्फत आएको रकमले लगानीयोग्य पुँजी बढाएका कारण बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको माग धान्न सकिरहेको प्रवक्ता पौडेलले बताए । उनले भने, ‘निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्सानी व्यवस्था पनि बढाउँदै लैजानुपर्ने हुन्छ । कर्जा असुली प्रभावित भएकाले यस्तो अवस्था आएको हो । अन्तिममा यसले बैंकको पुँजीमा दबाब सिर्जना भएको छ । रेमिट्यान्समा भएको वृद्धिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध गराएको छ ।’ पर्याप्त तरलताकै कारण दबाबमा पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न सकेको छैन । उनले भने, ‘अहिले सस्तो ब्याजदरमा कर्जा लिएर लगानी गर्ने अवसर पनि हो ।’

मुद्रास्फीति ५.४१ प्रतिशत
पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धिदर) ५.४१ प्रतिशत पुगेको छ । मंसिरमा ६.०५ प्रतिशतको मुद्रास्फीतिको तुलनामा पुसमा घटेको छ । यद्यपि, अघिल्लो वर्षको पुस महिनामा ५.२६ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ । 

बाह्य क्षेत्र सुविधाजनक
अर्थतन्त्रलाई चलायमान राख्न बाह्य क्षेत्र हालसम्मकै सुविधाजनक स्थितिमा छ । यद्यपि, बढ्दो आयात र घट्दो रेमिट्यान्स वृद्धिदरले बाह्य क्षेत्रको सुविधा कम हुने सम्भावना बढ्दै गइरहेको छ । बाह्य क्षेत्रका प्रमुख सूचकमध्ये चालू खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा छ । गत आवको ६ महिनामा चालू खाता एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा थियो ।

त्यस्तै, शोधनान्तर स्थिति बचतमा पनि कमी आएको छ । ६ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ । अघिल्लो वर्ष ०८०/८१ को सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो । खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा पुगेको छ । यसमा नेपालमा आउने विदेशी पर्यटकले गर्ने खर्च (भ्रमण आम्दानी)भन्दा नेपालीले विदेश भ्रमणमा जाँदा गर्ने खर्च (भ्रमण व्यय) बढी हुँदा यसले सेवा आय नै घाटामा पु¥याएको हो । भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेकोमा भ्रमण खर्च ९.७ प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । चालू आवको ६ महिनाको अवधिमा ६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी आप्रवाह चार अर्ब ५४ करोड थियो । गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले बढेर २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ । अहिलेको सञ्चितिले १७.३ महिनाको वस्तु आयात धान्न पर्याप्त देखिन्छ ।

सुझावित समाचार