त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला क्रिकेट टोलीले लगातार तेस्रो हारको सामना गरेको छ । हारसँगै घरेलु भूमिमा उपाधि जित्ने नेपालको सम्भावना कमजोर बनेको छ । नेदरल्यान्ड्सले नेपाललाई १५ रनले हरायो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रन बनायो ।
लगातार तेस्रो खेलमा नेपालका खेलाडीले फितलोे ब्याटिङ प्रदर्शन गरेका छन् । कुनै पनि खेलाडीले एकनासको ब्याटिङ गर्न सकिरहेका छैनन् । नेदरल्यान्ड्सविरुद्ध शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान चल्दा तल्लो क्रमका खेलाडी चल्न नसक्दा नेपाल १५ रनले हार्न पुग्यो । लगातार तेस्रो खेलमा हार सामना गरेको इनिङ्समा नेपालकी सीता रानामगरले नेदरल्यान्ड्सविरुद्ध पाँच विकेटको प्रदर्शन गर्न सफल भइन् ।
लक्ष्य पछ्याउन सक्ने अवस्थामा समेत पराजित हुँदा यसको असर धेरै भएको सीताले बताइन् । ‘घरेलु मैदानमा लगातार हार्दा यसको धेरै असर हुन्छ । हामीले जित्न सकेका छैनौँ । प्रत्येक खेलमा राम्रो गर्न सकिरहेका छैनौँ,’ उनले भनिन्, ‘लगातारको हारले दबाब बढेको छ । पिएम कपदेखि लगातार खेल्दा खेलाडी पनि थाकेका छन् ।’
यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धका दुवै खेलमा नेपाल पराजित भइसकेको छ । उपाधि सम्भावना कायम राख्न आइतबार नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब नेपालमाथि थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रन र दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको हो । अब, नेपालले मंगलबार थाइल्यान्डको सामना गर्नेछ ।
तल्लो क्रमको कमजोर प्रदर्शन
अघिल्ला दुई खेलमा शीर्ष क्रमका ब्याट्सम्यान चलेनन् । तेस्रो खेलमा शीर्ष क्रमका खेलाडीले राम्रो प्रदर्शन गरे पनि तल्लो क्रमका खेलाडी चुकेका छन् । नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रनको योगदान दिइन् । ओपनर सम्झना खड्काले २३ रन बनाउँदा पूजा महतोले १८ रन बनाइन् । कविता जोशीले १४ रनको योगदान गरिन् । १६.४ ओभरमा चार विकेट झर्दा १०० रन बनाएको थियो । नेपालले त्यसपछि लगातार चार विकेट गुमाउँदा १५ रन मात्र जोडेको थियो । पूर्वकप्तान रुबिना क्षेत्री र विन्दु रावल डक आउट भए । कप्तान रुबिना गोल्डेन डक भइन् । सम्झना र ममता चौधरीले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए ।
नेदरल्यान्ड्सको ब्याटिङ बलियो
नेपालविरुद्धको दोस्रो भेटमा पनि नेदरल्यान्ड्सले बलियो ब्याटिङ प्रदर्शन ग¥यो । पहिलो इनिङ्समा नेदरल्यान्ड्सकी कप्तान डी लिडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रन बनाइन् । हेथर सिगेर्सले २६ रन, ओपनर फेवेले २१ रनको योगदान गरेकी थिइन् । नेपालकी सीताले तीन ओभरमा १२ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारिन् ।