ताप्लेजुङ जिल्ला भएर बग्ने काबेली खोलाबाट उत्पादित करिब ३४ मेगावाट विद्युत् आगामी डेढ महिनाभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
काबेली खोलामा निर्माणाधीन काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरिरहेको २१.९३ मेगावाट क्षमताको काबेली–३ क्यासकेट जलविद्युत् आयोजना र हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धन गरिएको १२ मेगावाट क्षमताको जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको हो।
बिचमा बन्द हड्तालले अवरोध नगरे डेढ महिनाभित्रमा दुवै आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले बताए। उनले अहिले निर्माण अन्तिम चरणमा पुगेको हुँदा अब विद्युतको व्यावसायिक उत्पादनका लागि प्रक्रिया आरम्भ गरिने बनाए।
जनसम्पर्क अधिकृत ढुंगानाले २१.९३ को काबेली–३ आयोजना करिब डेढ महिनाभित्र र हिलटन हाइड्रो इनर्जीद्वारा निर्माणाधीन १२ मेगावाटबाट व्यावसायिक उत्पादनका लागि करिब एक महिना लाग्ने बताए।
सोही क्षेत्रमा निर्माण गरिएको स्नो रिभर्स लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित १३.५ मेगावाट विद्युत गत १६ मंसिरबाटै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ढुंगानाले जानकारी दिए। तीनवटै जलविद्युत् आयोजना निर्धारित समयभन्दा अघि निर्माण सम्पन्न भएका हुन्। मंसिरमा सम्पन्न सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्झौता मिति आउँदो चैतसम्मको छ।
