डिभिजन लिगका क्लबहरू सम्मानित

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

सहिद स्मारक ए, बी, सी डिभिजन क्लब तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई ललितपुर महानगरपालिकाले शनिबार एक विशेष समारोहबिच नगदसहित सम्मान गरेको छ।

महानगरपालिकाले ए डिभिजनका पाँच क्लबहरू थ्री स्टार, फ्रेन्डस्, जावलाखेल युथ, चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबलाई रु. ४/ ४ लाख प्रदान गरेको हो। बी डिभिजनका तीन क्लबहरू च्यासल युथ क्लब, खुमलटार एफसी र ब्रिगेड ब्वाइज युनाइटेडलाई रु. ३/३ लाख तथा सी डिभिजनका खालीबारी युथ क्लब, पुलचोक स्पोर्टस् क्लब, झम्सिखेल युथ क्लबलाई रु. २/२ लाख नगदले सम्मान गरेको छ।

त्यस्तै, विभिन्न मोफसल प्रतियोगिता जित्ने चर्च ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज युनाइटेडलाई प्रत्येक प्रतियोगिता जितेबापत ४ लाखका दरले सम्मान गरिएको छ। जसमा पाँच नकआउट प्रतियोगिता जितेको चर्च ब्वाइजले रु. २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड ब्वाइजले रु. ८ लाख पुरस्कार पाए।

समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलगायतले क्लबहरूलाई चेक हस्तान्तरण गरेका थिए।

सुझावित समाचार