कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अर्थपूर्ण सहभागिता र ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि मधेश प्रदेश सरकार जुटेको छ । खेलकुद तथा समाज कल्याण मन्त्रालयले खेलाडी छनोटको विषय र सहभागी खेलको विषयमा खेलकुदविज्ञ, सम्बन्धित संघ र प्रशिक्षकसँग छलफल गरी आवश्यक राणनीति बनाउने कार्यलाई तीव्रता दिएको छ । ‘प्रतियोगितामा हाम्रो सहभागिता अर्थपूर्ण र अब्बल हुनुपर्छ भन्ने उद्देश्य हो । सोहीअनुसार हामी तयारी गरिरहेका छौँ,’ खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बताए ।
‘११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मधेश प्रदेशले गर्ने भएको छ,’ जयसवालले भने, ‘त्यसकारण यो प्रतियोगितामा राम्रो गर्न सकेको खण्डमा हामीलाई ११औँ राष्ट्रिय प्रतियोगिताको तयारी गर्न पनि सहज हुन्छ ।’ एकपटक मिति सरिसक्दा राष्ट्रिय खेकलुद परिषद् (राखेप) ले प्रतियोगिता २३ चैतदेखि गर्ने निर्णय गरेको छ । खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवबिचको टकरावका कारण पहिलोपटक मिति सरिसकेको छ । फेरि मन्त्रिपरिषद्बाट कार्यविधि नै पास नहुँदा प्रतियोगिता दोस्रोपटकका लागि पुनः सर्ने अनुमान गरिएको छ । हालसम्म प्रतियोगिता कहाँ–कहाँ हुने, कुन–कुन खेल हुने, जिल्लादेखि प्रदेशसम्मको छनोट सुरु नै भएको छैन । पूर्वाधारका कारण सबै खेल कर्णाली प्रदेशमा नहुने पक्का भने भइसकेको छ ।
गण्डकी प्रदेशमा सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशले २६ खेल सहभागी थिए । फुलकन्ट्याक्ट कराँते, तेक्वान्दो, जुडो, कराँते, कुस्ती, उसु, क्रिकेट, फुटबल, खो–खो भलिबलसहितका खेलमा मधेश प्रदेशले पदक प्राप्त गरेको थियो । दसौँमा पनि अत्यधिक खेलमा सहभागिता जनाउने योजना रहेको छ ।
पाँच हजार खेलाडीको आवेदन
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशबाट आठ जिल्लाका खेलाडी सहभागी हुनेछन् । मन्त्रालयको खेलकुद महाशाखाकी अधिकृत निशा कर्णका अनुसार हालसम्म पाँच हजार खेलाडी दर्ता भएका छन् । जसमध्ये ६ सय ५० खेलाडी अन्तिम छनोट हुनेछन् । कर्णले भनिन्, ‘हामीसँग अहिलेसम्म विभिन्न स्थानीय तह, जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत पाँच हजारभन्दा माथि खेलाडीले दर्ता गर्नुभएको छ । त्यसमध्ये ६ सय ५० जना खेलाडीलाई मात्रै छनोट गरिनेछ,’ उनले भनिन्, ‘पहिला स्थानीय तह र त्यसपछि मात्रै जिल्लास्तरीय छनोट गर्नेछौँ । अन्तिम छनोटपछि बन्द प्रशिक्षण पनि हुनेछ ।’
पूर्वाधार निर्माणमा ध्यान
मन्त्री जयसवालले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्लाहरूमा रहेका खेलकुद मैदानको स्तरोन्नति तथा अधुरो रहेका खेलमैदानमा थप निर्माणका कार्यलाई अगाडि बढाउने बताएका छन् । १०औँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गरेर हामीले केही महिनाअघि प्रदेश खेलकुदसम्बन्धी ऐन ल्याएको बताउँदै मन्त्री जयसवालले भने, ‘ऐनका आधारमा खेलकुद नियमावली निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ । अब मधेशको खेलकुदको ग्राफ तीव्र रूपमा अगाडि बढ्छ ।’ खेलकुदका लागि मधेश प्रदेश उर्भरभूमि रहेको उल्लेख गर्दै मन्त्री जयसवालले भने, ‘मधेशमा विभिन्न खेलका राम्रा खेलाडी छन् । तर, विगतमा ती खेलाडीलाई राज्यले संरक्षण प्रवद्र्धनको कार्य गर्न सकेनन्, त्यसकारण केही खेलाडी खेलबाट पलायन भएको अवस्था छ । खेलाडी पलायन रोक्न विभिन्न योजना ल्याएर उनीहरूको मनोबल बढाउन लाग्छौँ ।’