प्रधानमन्त्रीले सदनमा नसुनाएका तथ्य

हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अनुकूल हुने आर्थिक तथ्यांक मात्रै सुनाए, केही लुकाए

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्रीले यी तथ्य सदनमा सुनाएनन्

प्रधानमन्त्रीले भने : ६ महिना अघिजस्तो अहिले अर्थतन्त्रमा भयावह स्थिति छैन । अर्थतन्त्रका परिसूचक राम्रा छन् । पहिलेका ‘नराम्रा’ परिसूचक सुधारोन्मुख छन् । अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र माग बढाउन सकिन्छ भनेर सरकार लागिपरेको छ ।

यो लुकाए : चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर पछिल्ला चार वर्षयताकै न्यून भएको राष्ट्रिय तथ्यांक कार्यालयकै प्रतिवेदनले देखाउँछ । चालू आवको पहिलो त्रैमास (साउन–असोज)मा मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत हुने अनुमान छ । यो वृद्धिदर पछिल्ला चार आवको सोही अवधिको तुलनामा सबैभन्दा न्यून हो । जबकि चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । अघिल्लो आव ०८०/८१ को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत थियो । त्यस्तै, ०७९/८० को पहिलो त्रैमासमा ४.६ प्रतिशत र त्यसअघि आव ०७८/७९ को पहिलो त्रैमासमा ३.८ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो ।

प्रधानमन्त्रीले भने : चालू आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छ ।

यो लुकाए :  चालू आवको ६ महिनामा सरकारले ५६ अर्ब ९४ करोड मात्रै पुँजीगत खर्च गरेको छ । चालू आवको पुँजीगततर्फको विनियोजन भएको तीन खर्ब ५२ अर्बमध्ये बाँकी ६ महिनामा दुई खर्ब ९५ अर्ब खर्च गरिसक्नुपर्ने चुनौती कायमै छ । गत आवको ६ महिनामा विनियोजित पुँजीगत बजेटको १६.३ प्रतिशत (४९ अर्ब २४ करोड) खर्च भएको थियो । गत आवको तुलनामा यो वर्ष बजेटको आकार नै बढेका कारण खर्चको वृद्धिदर पनि बढी देखिएको हो ।

प्रधानमन्त्रीले भने : गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन १३ प्रतिशतले बढी छ ।

यो लुकाए :  चालू आवको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व उठेको छ । ६ महिनाको राजस्व संकलन लक्ष्यको तुलनामा एक खर्ब १३ अर्ब कम हो । यस अवधिमा सरकारले ६ खर्ब ७२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो । गत आवको ६ महिनामा ६ खर्ब ६८ अर्ब राजस्व उठाउने लक्ष्य लिएकामा ७४.२५ प्रतिशत अर्थात् चार खर्ब ९६ अर्ब राजस्व संकलन भएको थियो । 

प्रधानमन्त्रीले भने : सरकारको कुल खर्च गत वर्षको यसै अवधिको तुलनामा १७.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यही अवधिमा अघिल्लो वर्षको तुलनामा यस्तो वृद्धिदर १.७ प्रतिशत मात्र थियो । 

यो लुकाए : चालू आवको ६ महिनामा ६ खर्ब ६७ अर्ब बजेट खर्च भएको छ । तर, चालू आवको खर्च कुल विनियोजनको ३५.८९ प्रतिशत मात्रै हो । बाँकी ६ महिनाको अवधिमा ११ खर्ब ९३ अर्ब खर्च गर्नुपर्ने चुनौती छ । गत आवको सोही अवधिमा ५ खर्ब ६६ अर्ब खर्च भएको थियो ।

प्रधानमन्त्रीले भने : ४८ मिनेट सम्बोधन गर्दा प्रधानमन्त्री ओली मूल्यवृद्धिको विषयमा एक शब्द पनि बोलेनन् ।

अवस्था यस्तो छ : राष्ट्र बैँकका अनुसार चालू आव ०८१/८२ को मंसिर मसान्तसम्म मूल्यवृद्धि ६.०५ प्रतिशत कायम भएको छ । भदौयता निरन्तर मूल्यवृद्धि भइरहेको सरकारी तथ्यांकले नै देखाउँछ । राष्ट्र बैंकका अनुसार भदौमा ३.८६ प्रतिशत, असोजमा ४.८१ प्रतिशत, कात्तिकमा ५.६ प्रतिशत पुगेको मुद्रास्फीति मंसिरमा ६.०५ प्रतिशत पुगेको थियो । जबकि अघिल्लो आर्थिक वर्ष ०८०/८१ को मंसिर मसान्तसम्म मूल्यवृद्धि ४.९५ प्रतिशत थियो । 

प्रधानमन्त्रीले भने : गत आर्थिक वर्षको तुलनामा ७.१ प्रतिशतले आयात वृद्धि भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा वस्तु निर्यात ३१.८ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा ७.१ प्रतिशत मात्र वृद्धि थियो । 

यो लुकाए : गत आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ९३ अर्बको व्यापार घाटा पुगेकामा चालू आवको सोही महिनामा ४.३८ प्रतिशतले बढेर सात खर्ब २३ अर्ब व्यापार घाटा हुन पुगेको छ । 

प्रधानमन्त्रीले भने :  चालू आर्थिक वर्षको ६ महिनामा गत वर्षभन्दा करिब ३५ अर्ब कर्जा बढी प्रवाह भएको छ । 

यो लुकाए : बैंकमा ६७ खर्ब तीन अर्ब निक्षेप थुप्रिएर बसेको राष्ट्र बैंकको तथ्यांक छ । कर्जाको माग बढ्न नसकेर बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी थुप्रिएको हो । पछिल्लोपटक राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तानेको छ । निक्षेप परिचालन नहुँदा अर्थतन्त्र चलायन हुन सकिरहेको छैन ।

प्रधानमन्त्रीले भने : अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्नेबित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रबैयालाई परिर्वतन गर्‍यौँ । निर्माण व्यवसायीको कानुनसम्मत रूपमा सिर्जना भएको, तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेका छौँ ।

यो लुकाए :  निर्माण व्यवसायीले अझै भुक्तानी पाउन बाँकी छ । आन्दोलनरत निर्माण व्यवसायी महासंघलाई  १६ माघमा मात्रै प्रधानमन्त्री कार्यालयले वार्तामार्फत समस्या समाधानको आश्वासन दिइएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाको नेतृत्वमा निर्माण क्षेत्रको समस्या सामाधानका लागि त्यही दिन कार्यदल बनेको छ ।

प्रधानमन्त्रीले भने : अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ)को कार्य सम्पन्न भएको छ । नेपालले पाएको रेटिङ डबल बी माइनस दक्षिण एसियामा भारतपछिकै उच्च हो । विदेशी मुद्रा सञ्चिति उच्च हुनु, आर्थिक वृद्धिमा सुधार हुँदै जानु र देशले राजनीतिक स्थिरता पाउनुले यो उपलब्धि हासिल गर्न सकिएको हो । 

यो लुकाए : नेपालले प्राप्त गरेको यो रेटिङ ‘नन इन्भेस्टमेन्ट ग्रेड’अन्तर्गत रहेको छ । यसले लगानीको वातावरण कमजोर रहेको, तर सुधारको अवसर कायम रहेको देखाउँछ । नेपालले इन्भेस्टमेन्ट ग्रेड हासिल गर्न कम्तीमा बिबिबी प्राप्त गर्नुपर्छ । बरु, सरकारले यो रेटिङ देखाएर वैदेशिक ऋण थपिरहेको छ ।

प्रधानमन्त्रीले भने :  यो सरकार आउँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ । 

तथ्य यस्तो छ : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा ८१ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ । पूर्वी खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटरमध्ये ३१ किलोमिटर दुईतर्फी र करिब १० किलोमिटर एकतर्फी कालोपत्रे भएको छ । पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर क्षेत्रको काम अझ सुस्त गतिमा छ, ४२ प्रतिशत मात्र काम भएको छ । प्रधानमन्त्रीले भनेजस्तो चिल्लो छैन, धुलो उडिरहेकै छ । 

प्रधानमन्त्रीले भने : उपभोक्ता हित संरक्षणसम्बन्धी आपसमा बाझिएका कानुनमध्ये अप्रासांगिक कानुन खारेज गरिएको छ । प्रतिस्पर्धाको माध्यमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्था गरी एकातिर उद्यमी व्यवसायीलाई अनावश्यक तर्साउने अवस्था हटाइएको र अर्कातिर उपभोक्ता हित संरक्षणलाई अझै मजबुत बनाइएको छ । 

तथ्य यस्तो छ :  बढी मुनाफा लिएर वस्तु तथा सेवा बिक्री गर्नेलाई कारबाही गर्ने कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा भएको २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था खारेज गरिएको छ । यो व्यवस्था खारेजपछि उद्योगीले मनलाग्दी मूल्य तोकेर वस्तु तथा सेवा बिक्री गर्न पाउने अवस्था सिर्जना भएको छ । कालोबजार ऐनको उक्त व्यवस्था हटेपछि बजारमा मूल्यवृद्धि नियन्त्रण गर्ने कानुनको अभाव भएको छ । उदाहरणका लागि पछिल्लो समय कृत्रिम मूल्यवृद्धि गरिएको सिमेन्टको भाउ नियन्त्रण गर्न सरकार असफल भइरहेको छ ।

सम्पत्ति शुद्धीकरणको नकारात्मक सूचीको जोखिममा अघिल्लो सरकारलाई आरोप
देश सम्पत्ति शुद्धीकरणको नकारात्मक सूची (ग्रे लिस्ट)मा पर्न लागेको अघिल्लो सरकारका कारण भएको आरोप लगाए । ‘सरकारले समयमै काम नगर्दा मुलुकलाई कुन हदसम्म क्षति हुन्छ भन्ने हामीले मनी लाउन्डरिङको मुद्दामा देखि–भोगिसकेका छौँ,’ सम्बोधनमा उनले, ‘अघिल्ला सरकारको समयमा भएको बेवास्ता र लापरबाहीको परिणाम अहिले मुलुकले भोग्नुपर्ने भएको छ । हाम्रो देश ग्रे लिस्टमा पर्ने खतरा छ ।’ 

जानकारहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन कार्यान्वयन कमजोर रहेकाले नेपाल यस्तो सूचीमा पर्न लागेको र यसमा दुई दशकदेखिकै कमजोरी छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन ०६४ मै आए पनि अनुसन्धान र नियमन कमजोर रहँदै आएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वर्षमा तीन–चारवटा मात्र मुद्दाको दायर गर्दै आएको छ । ओलीले नै ०७४ मा विभागलाई प्रधानमन्त्री कार्यालयमातहत लगेका थिए । त्यसपछि झनै विभागको नतिजा कमजोर देखिएको छ । 

अन्तर्राष्ट्रिय दबाबकै कारण तीन वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग गठन भए पनि त्यसले पनि राम्रो काम गर्न सकेको छैन । अन्य नियमनकारी निकायमा अत्यधिक हस्तक्षेपका कारण प्रभावकारी काम हुन नसक्दा देश ग्रे लिस्टमा पर्न लागेको हो । ओलीले यसको सबै दोष अघिल्लो सरकारलाई दिए । सम्पत्ति शुद्धीकरणमा अहिले नेपालको तेस्रो पारस्परिक मूल्यांकन चलिरहेको छ । सन् २०२१ देखि चलिरहेको यो मूल्यांकन अहिले अन्तिम नतिजाको चरणमा पुगेको छ । आगामी फेब्रुअरीमा यसको अन्तिम टुंगो लाग्दै छ । 

प्रा.डा. पुष्कर बज्राचार्य, अर्थशास्त्री 
वास्तवमा साँच्चै राम्रो भइसकेको छैन । बाह्य क्षेत्रमा केही राम्रो देखिएको छ । साढे दुई वर्ष शिथिल थियो । तर, अरू देशले जस्तो सुधार गर्न सकेका छैनौँ । राम्रो भइसकेको छैन ।

ज्यादै कमजोर भएको निम्न अवस्थामा केही सुधार भएको हो । त्यसमा सन्तोष लिइहाल्ने अवस्था छैन । महँगी बढ्यो भनेर फेरि ब्याजदर बढाउनुहुन्न । लगानी बढ्न सकेको छैन । लगानीकर्तामा विश्वासको वातावरण बढ्न सकेको छैन ।

यस्तो वेलामा ब्याजदर बढ्यो भने अवस्था झन् बिग्रिने हुन्छ । खराब कर्जा झन् देखिँदै जाने अवस्था देखिएको छ । सुधारोन्मुख छ, तर सन्तोषजनक छैन । राम्रो छ भनेर चित्रण गर्नुभन्दा यसलाई सुधार गर्नतर्फ ध्यान दिनुपर्छ ।

सुझावित समाचार