संकटा बन्यो सभापति कपको च्याम्पियन

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण
संकटा बन्यो सभापति कपको च्याम्पियन

ट्रफीका साथ च्याम्पियन संकटा क्लब

संकटाका गोलरक्षक दीप कार्कीले दुई पेनाल्टी रोकेपछि आयोजक बागमती सडन डेथमा ४–३ ले स्तब्ध

संकटा क्लब पहिलो सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । दशरथ रंगशालामा बिहीबार भएको फाइनलमा संकटाले आयोजक बागमतीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि भिडन्तको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको थियो । त्यसपछि खेल सीधै टाइब्रेकरमा गयो । टाइब्रेकरमा संकटा र बागमतीले ३–३ गोल गरे । 

टाइब्रेकरमा समेत खेल बराबरी भएपछि उपाधिको छिनोफानो सडनडेथबाट भएको हो । संकटाले सडनडेथमा बागमतीलाई स्तब्ध पार्यो । लोकतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको सभापति कप विजेता संकटाले २६ लाख र उपविजेता बागमतीले १३ लाख पाएका छन् । बागमती लोकतान्त्रिक खेलकुद संघकै टिम हो । 

टाइब्रेकरमा संकटाका कप्तान तथा गोलरक्षक दीप कार्की नायक बने । उनले दुई पेनाल्टी बचाए । संकटालाई जिताउन लक्षु थापा, विदेशी खेलाडी साम कार्लाेस, स्वयं गोलरक्षक दीप र सुनील खड्काले गोल गरे । संकटाका गोलरक्षक दीपले बागमतीका कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार रोकेका थिए । बागमतीका रजत तिवारीले प्रहार गरेको बल पोस्टभन्दा बाहिर गएको थियो । 

फाइनल भिडन्त निराश
बागमतीका कप्तान विकेश कुथूले पनि संकटाका दुई प्रहार रोके । उनले संकटाका राम थापा र रोहन पहारीको प्रहारलाई असफल पारे । बागमतीका लागि नवीन लामा, फोडे फोफाना र विदेशी खेलाडी सेनेग्लास एलेक्सले टाइब्रेकरमा गोल गरे । फाइनल खेलमा दुवै टोलीले समान चार विदेशी खेलाडी अनुबन्ध गरेका थिए । बागमतीले राष्ट्रिय टोलीबाट खेलिसकेका गोलरक्षक विकेशसँगै सुरज जिउ ठकुरी, कमल श्रेष्ठ र नवीन लामा फाइनलमा उतारेको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब संकटाले गोलरक्षक दीप कार्कीसँगै सुदीप गुरुङ टोलीमा समावेश गरेको थियो । 

फाइनलमा संकटा र बागमती फाइनथ थर्डमै चुकेको देखिए । दुवै टिमले खेलमा सुन्दर अवसर बनाउनसकेनन् । संकटाले सेमिफाइनलमा मच्छिन्द्रलाई सडनडेथमा हराएको थियो । बागमतीले एनआरटीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । 

गोलरक्षक दीप सर्वाेत्कृष्ट खेलाडी
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी संकटाका कप्तान तथा गोलरक्षक दीप भए । उनले ७५ हजार रुपैयाँ पाएका छन् । उत्कृष्ट गोलरक्षक हुँदै बागमतीका विकेशले ५० हजार रुपैयाँ पाए । 

उदयीमान खेलाडी सन्दीप कार्कीले २५ हजार प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्तामा अञ्जन विष्ट, कृतिशरत्न छुन्जू र विदेशी खेलाडी रिचार्ड अबेक बनेका छन् । तीनै खेलाडीले समान दुई गोल गरेका छन् । सर्वाधिक गोलकर्ताले जनही ५० हजार रुपैयाँ बाँडेका छन् । 

सुझावित समाचार