अढाई वर्षदेखि पुनर्संरचनाको पर्खाइमा नेपाल स्टक एक्सचेन्ज

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

सेयर लगानीकर्ताले खेप्दै आएका हैरानीलाई सम्बोधन गर्न र स्वार्थ समूहले गर्ने चलखेललाई रोक्ने गरी धितोपत्र बजारलाई सुधार्ने सुझावसहितको अध्ययन प्रतिवेदन अड्कियो अर्थ मन्त्रालयमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना गरि धितोपत्र बजार सुधार गर्ने प्रस्ताव अढाई वर्षदेखि अर्थ मन्त्रालयमा थन्किएको छ । नेप्से सञ्चालक समितिको २४ वैशाख, ०८० मा बसेको बैठकले नेप्सेमार्फत धितोपत्र बजार पुनर्संरचना गर्नेसम्बन्धी संक्षिप्त प्रतिवेदन पास गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरेको थियो । संक्षिप्त प्रतिवेदन अध्ययन गरेको अर्थले विस्तृत अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएको थियो । लगत्तै, नेप्सेले विस्तृत अध्ययन प्रतिवेदनसहितको सुझाव समेटेर बुझाएको प्रस्तावमा अर्थले अहिलेसम्म कुनै निर्णय दिएको छैन ।

नेप्से प्रवक्ता मुराहरि पराजुलीले संक्षिप्त र विस्तृत अध्ययन प्रतिवेदन बुझाएको लामो समय भएपनि अर्थबाट कुनै निर्णय वा निर्देशन प्राप्त नभएको बताए । ‘हामीले सुरुवातमा नेप्से पुनर्संरचनासम्बन्धी प्रस्तावसहितको संक्षिप्त प्रतिवेदन तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष पेस गरेका थियौँ । उहाँले विस्तृत अध्ययनसहितको प्रतिवेदन बुझाउनु भन्नुभयो । त्यसपछि बाह्य विज्ञबाट विस्तृत अध्ययन गरायौँ’ उनले भने । विस्तृत प्रतिवेदन अर्थमा पस गरेर कार्यान्वयनका लागि सैद्धान्तिक सहमति माग गरिए पनि हालसम्म कुनै निर्णय नभएको उनले बताए ।

एउटा कम्पनी वा संस्थालाई अधिकतम ५ प्रतिशत मात्रै सेयर दिनुपर्ने सुझाव
अध्ययन प्रतिवेदनले प्रारम्भमा सर्वसाधारणलाई ३० प्रतिशत र संस्थागत सुशासन भएका संस्थालाई अधिकतम ५ प्रतिशत सेयर दिएर नेप्सेको पुनर्संचना गर्न सिफारिस गरेको छ । स्टक एक्सचेन्ज एक अग्रपंक्तिको नियामक भएकाले सेयरधनीबिच स्वार्थको द्वन्द्व हुन नदिन अधिकतम सेयर स्वामित्व प्रतिशत निर्धारण गर्नुपरेको प्रतिवेदनको तर्क छ । 

नेपालमा स्टक एक्सचेन्ज सञ्चालन विनियमावलीले सेयरधनीलाई अधिकतम १५ प्रतिशत मात्र सेयर लिन पाउने व्यवस्था छ । भारतमा यस्तो सीमा ५ प्रतिशत मात्रै छ । स्टक एक्सचेन्ज स्वामित्वको अधिकतम सीमा तोक्नुको उद्देश्य कुनै पनि एकल संस्था वा व्यक्तिले एक्सचेन्जलाई प्रभाव पार्न नसकोस् भन्ने भएकाले यो सीमा ५ प्रतिशत कायम गर्न सक्ने प्रतिवेदनको सुझाव छ । यसले कुनै पनि निजी संस्थाले नेप्सेको निर्णय प्रक्रियामा हाबी हुन नसक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

सोही सुझावअनुसार २८ मंसिर, ०८० मा बसेको सञ्चालक समितिले आव ०८०/८१ भित्र नेप्सेको प्राथमिक सेयर निष्कासन गर्ने गरी चुक्ता पुँजी तीन अर्ब पुर्‍याउने निर्णय गरेको थियो । उक्त पुँजीबाट ३० प्रतिशत सेयर कर्मचारसहित सर्वसाधारणलाई र कुनै पनि एक संस्थालाई ५ प्रतिशतभन्दा बढी नहुने गरी वाणिज्य बैंक, विकास बैंक, पुनर्बिमा कम्पनी, जीवन तथा निर्जीवन बिमा कम्पनी र अन्य सरकारी स्वामित्वका संस्थानलाई प्रिमियम मूल्यमा सेयर जारी गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा कर्मचारीसहित सर्वसाधारणलाई ५० करोडबराबरको सेयर बिक्री गर्ने योजना थियो ।

एसियाकै ठुलो बम्बे स्टक एक्सचेन्ज नेपाललाई सफ्टवेयर बेच्न इच्छुक
नेपालको धितोपत्र बजारलाई सुधार्ने गरी बम्बे स्टक एक्सचेन्जले आफ्नो सफ्टवेयर प्रयोग गर्न सुझाव दिएको छ । करिब ६ हजार कम्पनी सूचीकृत बम्बे स्टक एसियाकै ठुलो र पुरानो धितोपत्र बजारका रूपमा परिचित छ । यो सफ्टवेयरमार्फत मुद्रा, ऋणपत्र, सेयर र डेरिभेटिभ्सको समेत कारोबार गर्न मिल्छ । नेप्सेले पनि सो प्रस्ताव उपयुक्त ठान्दै अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाएको छ । तर, अहिलेसम्म निर्णय नआएको प्रवक्ता मुराहरि पराजुलीले बताए ।

सुझावित समाचार