अपराजित रहँदै एपिएफ क्लब राष्ट्रिय महिला लिग २०२४/२५ को च्याम्पियन बनेको छ । दशरथ रंगशालामा बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबमाथि ४–० को सानदार जित निकाल्दै उपाधि रक्षा गरेको हो । एपिएफ ०६८ देखि लगातार घरेलु लिगमा अपराजितजस्तै छ । घरेलु फुटबलमा एपिएफ अन्तिमपटक ०७९ मा धनगढीमा भएको मोफसल प्रतियोगिताको फाइनलमा पुलिससँग पराजित भएको थियो । त्यसयता एपिएफको महिला टोलीले घरेलु फुटबलमा खेल गुमाएको छैन ।
लिगको पहिलो खेलमै पुलिससँग गोलरहित बराबरी खेलेको एपिएफ त्यसपछिका १८ खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बन्यो । पुलिसविरुद्ध एपिएफको यो लगातार तेस्रो जित हो । दोस्रो चरणका दुवै लिगमा एपिएफले पुलिसलाई हराएको थियो । पहिलो लेगमा ६–० ले पाखा लगाएको एपिएफले दोस्रो लेगमा पुलिसविरुद्ध २–० को जित निकाल्यो ।
एपिएफलाई च्याम्पियन बनाउन सविता रानामगरले दुई गोल गरेकी थिइन् । सरु लिम्बू र अनु लामाले समान एक गोल गरे । अनुको घरेलु लिगमा करिअरकै अन्तिम गोल रह्यो । फाइनलसँगै उनले घरेलु फुटबलबाट सन्न्यास लिइन् । महिला लिगमा एपिएफकै सविता सर्वाेत्कृष्ट खेलाडी भइन् । उत्कृष्ट गोलरक्षकको उपाधि एपिएफकै सावित्री किसनले जितिन् । लिगमा ३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता बनिन् । उपाधिसँगै एपिएफले १० लाख र उपविजेता पुलिसले ५ लाख पाएका छन् । फेयर प्ले अवार्ड आर्मीले पायो ।
एपिएफलाई राष्ट्रिय खेलाडीको साथ
एपिएफमा हाल राष्ट्रिय टोलीबाट खेलिरहेका र खेलिसकेका एक दर्जन खेलाडी छन् । अहिले राष्ट्रिय महिला टोलीमा स्ट्राइकर रश्मिसहित सविता, अनिता केसी, अनिता बस्नेत, रेनुका नगरकोटे, सरु लिम्बू, प्रीति राई, गीता राना, निशा थोकर र हिराकुमारी भुजेल छन् ।
राष्ट्रिय टोलीबाट खेलिसकेका निरु र मञ्जलीकुमारी योञ्जन पनि एपिएफमै छन् । नेपालको युवा टोलीबाट खेलिसकेका सावित्रीसँगै मनमाया दमाईं, सरस्वती हमाल र हिमा रावत समावेश हुँदा लिगभरि नै एपिएफको बेन्च सर्वाधिक बलियो देखिन्थ्यो ।
दोस्रो हाफमा एपिएफको कमब्याक
अपराजित एपिएफविरुद्ध पुलिसले मजबुत रक्षापंक्ति अपनाएको थियो । पुलिसले एपिएफलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्यो । खेलको ६४औँ मिनेटमा एपिएफले गोल खडेरी तोड्यो । सविताले एपिएफलाई १–० को अग्रता दिलाइन् । सरु लिम्बूले दायाँ साइडबाट निकालेको क्रसमा सविताले वान टचमा गोल गरिन् । खेलको ६९औँ मिनेटमा सरुले एपिएफलाई २–० को स्थितिमा राखिन् ।
मिडफिल्डर रेनुकाको हेडिङ पोलमा लागेर फर्किएको थियो । डिबक्सभित्र रिबाउन्डको फाइदा लिँदै उनले दोस्रो बारमा गोल गरिन् । खेलको ८३औँ मिनेटमा प्रीतिको थ्रु पासमा सविताले अर्को उत्कृष्ट गोल थपिन् । खेलको अन्तिम इन्जुरी समयमा पुलिसकी गोलरक्षक उषा नाथको गल्तीमा अनुले खाली पोस्टमा सहजै गोल गर्दा एपिएफले फाइनल ४–० ले जित्यो ।
अनुले लिइन् सन्न्यास
नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट सन्न्यास लिएकी छिन् । फाइनलपछि एपिएफका खेलाडीले उनलाई ‘गार्ड अफ द अनर’बाट सम्मान गरेका थिए । सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलबाट अनुले सन्न्यास लिएकी थिइन् । ३७ वर्षीया स्ट्राइकर अनुले एपिएफबाट घरेलु फुटबललाई निरन्तरता दिँदै आएकी थिइन् ।
‘यो नै घरेलु लिगमा अन्तिम खेल थियो । अहिले राम्रा नयाँ खेलाडी आएका छन् । लगातार दुई दशकदेखि खेलिरहेकी छु । आज सन्न्यास लिने सुन्दर मौका थियो । महिला लिगमा दुःखका दिन पनि आए । अहिले राम्रो भएको छ । घरेलु लिग र नकआउट फुटबलमा ध्यान दिनुपर्छ,’ अनुले भनिन् ।
०६० देखि घरेलु फुटबल खेल्दै आएकी उनी पुलिसविरुद्ध ८८औँ मिनेटमा रेनुका नगरकोटेको स्थान लिँदै मैदान प्रवेश गरेकी थिइन् । पुलिसविरुद्ध उनले एक गोल गरिन् । सन् २०१० मा राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी अनुको नाममा ३५ अन्तर्राष्ट्रिय गोल छ । उनको यो रकेर्ड सावित्रा भण्डारीले तोडेकी हुन् ।