भारतको प्रयागराजमा आयोजित महाकुम्भमा भागदौड हुँदा मृत्यु हुनेकाे संख्या ३० पुग्याे

नेपाली राजदूतावासका काउन्सिलर एसएसपी सञ्जीव शर्मा दासले भने– अहिलेसम्म नेपाली नागरिक हताहती भएको हामीलाई कुनै जानकारी छैन

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

छिमेकी भारतको उत्तरप्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा किचिएर ३० जना तीर्थयात्रीको मृत्यु भएको पुष्टि भएको छ । बुधबार बिहान १ देखि २ बजेको बिचमा अखाडा मार्गमा रहेको ब्यारिकेड भत्किएपछि तीर्थयात्री उग्रभिडतर्फ जाने क्रममा घटना भएको हो । घटनामा ३० जनाको मृत्यु भएको प्रहरीले बुधबार साँझ पुष्टि गरेको छ । 

६ हप्ता लामो धार्मिक पर्वको सबैभन्दा शुभ स्नान दिनमध्ये एक बुधबार ‘मौनी अमावस्या’ थियो । यस अवसरमा ‘अमृत स्नान’का लागि लाखौँ हिन्दु भक्तजन घाटहरूमा भेला हुँदा घटना भएको भारतीय प्रहरीले जनाएको छ । 

‘महाकुम्भमा बिहान सबेरै भएको भागदौडले बुधबार एक पवित्र जमघटलाई विनाशको दृश्यमा परिणत गर्‍यो, जसमा कम्तीमा ३० जनाको मृत्यु भयो र ६० जना घाइते भए’ कुम्भ मेलामा खटिएका भारतीय प्रहरीका डिआइजी वैभव कृष्णलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ । 

बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा डिआइजी वैभव कृष्णले भने, ‘ठुलो भिडका कारण ब्यारिकेडहरू भत्किए, जसको परिणामस्वरूप भागदौड मच्चियो । ब्रह्म मुहूर्तको पर्खाइमा रहेका भक्तहरूलाई भिडले कुल्चिन थाल्यो । प्रशासनले तुरुन्तै उद्धार कार्य थाल्यो र एम्बुलेन्सहरूका लागि ग्रिन करिडोर सञ्चालन गरेर ९० घाइतेहरूलाई अस्पताल पुर्‍यायो । दुर्भाग्यवश, तीमध्ये ३० जना भक्तहरूको मृत्यु भएको छ ।’ 

घटनामा नेपाली नागरिक परेको जानकारी नआएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘अहिलेसम्म नेपाली नागरिक परेको विषयमा हामीलाई जानकारी छैन,’ नेपाली राजदूतावासका काउन्सिलर एसएसपी सञ्जीव शर्मा दासले नयाँ पत्रिकासँग भने । 

उत्तरप्रदेश प्रशासनले बुधबार १० करोडभन्दा बढी भक्तजनको उपस्थिति अनुमान गरेर सुरक्षा व्यवस्था बढाएको थियो । ‘अखाडा मार्गमा रहेको ब्यारिकेड भत्केपछि भिडले बिहान १ देखि २ बजेको बिचमा अर्कोतर्फ लाग्ने क्रममा दुःखद घटना भयो,’ डिआइजी कृष्णले भने । 

घटनाको छानबिनका लागि उत्तरप्रदेश सरकारले न्यायाधीश हर्ष कुमार, पूर्वडिजी बिके गुप्ता र सेवानिवृत्त आइएएस डिके सिंह सम्मिलित तीनसदस्यीय न्यायिक आयोग गठन गरेको छ । भारतका विपक्षी दलहरूले भाजपा नेतृत्वको सरकारको अव्यवस्थाका कारण घटना भएको भन्दै आलोचना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् । 

सुझावित समाचार