सल्यानमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ३ बाझठानाका अन्दाजी २५ वर्षीय काले पाण्डेको दार्मा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बिहान खाना खाएर कपडा धुन भनी दार्मा खोलामा गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार उनी केही कपडा धोएर सुकाएको र केही कपडा धुन बाकी रहेको अवस्थामा खोलामा डुबेर मृत्यु भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोलामा पानीको बहाव धेरै नभए पनि युवक पानी र हिलो जमेको स्थानमा डुबेको भेटिएका हुन्।
स्थानीयका अनुसार उनी मानसिक रोगी र छारे रोग रहेको भन्ने बुझिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी हवल्दार यज्ञबहादुर खड्काको कमान्डमा ३ जनाको टोली घटना सुरक्षाको लागि खटिएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठसहित ५ जनाको टोली खटिएको छ।